आतंककारी भन्नेलाई कसले के गर्ने ?

आतंककारी भन्नेलाई कसले के गर्ने ?

सुदूरपश्चिमका विभिन्न मञ्चमा एमालेको तल्लो तहका नेता–कार्यकर्ताले माओवादी आतंकमा दुःख पायौँ, बाँचेर आयौँ, त्यो युद्ध थिएन भनेर बोल्नेलाई कारवाही गर्नका लागि लबिङ गरिरहेका लेखराज भट्टकै अगाडि महासचिव शंकर पोखरेलले माओवादी हिंसा र आतंक नै थियो भनेपछि संकट परेको छ ।

गत साता धनगढीको पत्रकार सम्मेलनमा माओवादी युद्ध हाँकेर आएका एमालेका सुदूरपश्चिम इञ्चार्ज केन्द्रीय सचिव लेखराज भट्टलाई छेउमा राखेर महासचिव पोखरेलले ‘हामीले युद्ध लड्नेको प्रशंसा गरेका छौँ, गलत कुराको विरोध गरेका हौँ, माओवादी कालमा बस आगजनी गर्ने, घर जलाउने काम हिंसा नै हो, आतंक फैलाइएको हो सत्यनिरूपण आयोगले पनि ती कुरा स्वीकार गरेको छ, भनेका थिए । 

जबकि यसअघि पोलिटब्युरो सदस्य गणेश ठगुन्ना, जिल्ला र प्रदेश तहका केही एमालेले माओवादी आतंकमा पार्टी जोगाउन सक्नु ठूलो काम थियो भनेका थिए । मोहन्याल र लम्कीका कार्यक्रममा हिजो माओवादी भएर हामीलाई दुुःख दिने, आज एमाले भएर पनि दुःख दिने भनी सामान्य कार्यकर्ताले टिप्पणी गर्दा उनीहरूमाथि लेखराजले कारबाही गर्न महासचिव र अध्यक्ष केपी ओलीलाई सुनाएका थिए । 

तर, अहिले जुन भूगोलमा माओवादीबारे एमाले कार्यकर्ताले आलोचना गरे त्यहीँ महासचिव पोखरेलले पनि आफ्ना कार्यकर्ताको भनाइलाई बल पुग्ने गरी बिना प्रसंग बोलेपछि अब लेखराजले कसलाई के कारबाही गर्ने र गराउने भन्ने टिप्पणी हुन थालेको छ । पोखरेलले पत्रकार सम्मेलनमा समसामयिक विषयमा आफ्ना धारणा भन्दै माओवादी र रवि लामिछानेको सहकारी प्रकरणलाई लिएर चर्को टिप्पणी गरेका थिए । 

रावललाई कसरी ठेगान लाउने 

लेखराज नजिककाले हल्ला चलाएका थिए– अध्यक्ष ओलीको स्पष्ट निर्देशन छ, फेरि पनि आफ्ना फरक गतिविधि कायम राखे भीम रावललाई कारवाही गर्नु । हुन पनि रावल अहिले साधारण सदस्य मात्र भएकोले तल्ला तहको सिफारिसमा प्रदेश इञ्चार्जको हिसाबले लेखराजले कारवाही गर्न वा गराउन सक्छन् ।

तर, धनगढीकै पत्रकारको प्रश्नमा पोखरेलले रावल स्वतन्त्र जस्तै पार्टीका नीति, कार्यक्रम अनुसार हिँडिरहनु भएको छ, के कारबाही गर्ने भनेर टिप्पणी गरेका थिए । पोखरेलले सल्लाहकार कमिटीतर्फ संकेत गर्दै रावल आफैँ जिम्मेवारीबाट बाहिरिएको चर्चा पनि गरे । 

तर रावलको प्रकरणमा पनि इञ्चार्ज भट्टलाई नै समस्या परेको छ । हिजो अछाममा मात्रै गतिविधि गरिरहेका रावललाई अध्यक्ष ओलीले कारवाही गर्न भनेको चर्चा चलिरहँदा अहिले उनले कैलाली र कञ्चनपुरमा समेत गतिविधि बढाएका छन् । रावलका गतिविधि बढ्दा इञ्चार्ज भट्टले के गर्छन् भन्ने चर्चा पनि हुन थालेको छ । 

पछिल्लो समय एमालेमा विभिन्न तहका कार्यकर्ता नेता रावलको कार्यक्रममा सहभागी भएका छन् । पहिले रावलसित भेट्न डराउनेहरूले खुलेर भेट्न थालेको स्वयं रावलको बुझाइ छ । रावललाई खुला कार्यक्रममा एमाले छोड्नु हुन्न भन्ने आवाज धेरै भए पनि छुट्टाछुट्टै भेट्दा अन्याय सहेर बस्न नहुने भन्न थालिएको छ । रावलले खुला कार्यक्रममा आफूले एमाले छोड्ने कुरा नसोचेको, छाड्ने अवस्था आउँदा सल्लाह लिन्छु, तपाईंहरूको साथ चाहिन्छ भन्ने गरेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू