प्रेस चौतारीका अध्यक्षलाई कारबाही गर्नैपर्ने एकीकृत समाजवादी नेतृको माग

प्रेस चौतारीका अध्यक्षलाई कारबाही गर्नैपर्ने एकीकृत समाजवादी नेतृको माग

एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रुक्मती जागरीले एमाले निकट प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई कारबाही नगरिए कानुन हातमा लिने चेतावनी दिएकी छन् । पत्रकार सम्मेलन गरेर उनले बस्नेतलाई तत्काल पक्राउ गर्नुपर्ने अन्यथा द्वन्द्व सिर्जना हुनसक्ने उनको भनाई छ । 

‘मेरा पनि आफन्त छन्, दाइभाई छन्, यहाँ नसोचेको द्वन्द्व हुनसक्छ’, उनले भनिन्, ‘मलाई कानुन हातमा लिन बाध्य नपारियोस्, किनभने यो देश कानुनी राज्य हो, म कानुन मान्ने मान्छे हुँ ।’

जनता टाइम्सका सम्पादक समेत रहेका बस्नेतले केही समयअघि ‘एकीकृत समाजवादीकी नेतृको यो हर्कत’ भन्ने शीर्षकमा स्क्यान्डल जसरी समाचार प्रकाशित गरेका थिए । यद्यपि, त्यस सम्बन्धमा प्रेस काउन्सिलले उनलाई स्पष्टीकरण सोधिसकेको छ । साइबर ब्युरोले पनि उनलाई भदौ अन्तिम साता पक्राउ गर्न खोजेको थियो, तर परेनन् । 

रुक्मतीले भने पक्राउ पुर्जी जारी हँदा पनि बस्नेतलाई पक्राउ नगरिएको भन्दै आपत्ती जनाएकी छन् । बस्नेतले योजनाबद्ध रुपमा आफ्नो राजनीतिक र सामाजिक भविष्य खतम पार्न भ्रामक समाचार लेखेको उनको दावी छ । बस्नेतकै कारण आफूलाई बाँच्न गाह्रो भएको उनको दुःखेसो छ । 

सुनाइन्, ‘मैले मोबाइल अफ गरेर बस्नुपर्ने अवस्था आएको छ । मेरो आफन्त र परिवारलाई गाह्रो भएको छ । के त्यो पत्रकारको घरमा कुनै महिला छैनन् । मेरो ८८ किलो तौल थियो, अहिले घटेर ६० किलोमा झरेको छु तनावले । भर्खरै तौल जोखेर आएको ।’

रुक्मती जागरीले यसो भनेकी छन् :

गणेश बस्नेतले एकीकृत समाजवादीकी नेतृको यो हर्कत भनेर भ्रमित समाचार छापे । उनी सम्पादक रहेछन् । मेरो आपत्तिजनक भिडियो माधव नेपाललाई दिइएको छ भनेर लेखे । उनले त्यस्तै प्रकृतिका चार पाँचवटा भ्रमित समाचार लेखेका छन् । त्यो हर्कत गर्ने रुक्मती जागरी र उपमहासचिव हुन् भनेर भ्रमित समाचार छापे । प्रेस चौतारीका अध्यक्ष रहेछन् । 

त्यसपछि खप्तड टिभी, त्यसका सञ्चालक गणेश विक । उनले पनि त्यस्तै लेखे । उनीहरुले मिलेर योजना बनाइ बनाई मेरो व्यक्तिगत चरित्र हत्या गरे । भिडियो बनाएर मेरा आफन्तलाई खोजी खोजी पठाए । गाउँ समाजमा प्रचार प्रसार गरे । त्यसले मलाई यति गाह्रो बनायो कि मैले मोबाइल नै अफ गरेर बस्नुपर्यो । बसेको छु । 

त्यसपछि म प्रेस काउन्सिल, साइबर ब्युरो, महिला आयोग सबै ठाउँ धाएँ । 

महिला आयोगका सदस्यहरुले के भन्नुभयो थाहा छ ? दुःखलाग्दो कुरा हो यो । हामीले त महिला हिंसा र घरेलु हिंसा मात्रै हेर्छौ भनेर फर्काउनुभयो । प्रेस काउन्सिलले चाहीँ स्पष्टीकरण सोध्यो । तर पनि न्युज हटाएनन् उनीहरुले । 

साइबर ब्युरोमा जाँदा मैले आफूलाई प्रमाणित गर्न शारीरिक परीक्षणसमेत गराएको छु । १७ वटा बुँदामा स्पष्टीकरण बुझाएको छु । मैले साइबर ब्युरोमा सुनाएपछि फेसबुकमा सेयर गर्ने आशिष साउदविरुद्ध प्रक्राउ पुर्जी जारी भयो, तर उनी विदेशमा रहेछन् । तर समाचार लेख्ने गणेश बस्नेत विरुद्ध पक्राउ पुर्जी जारी भएन । अत्ति भएपछि म गृहमन्त्री कहाँ पुगे । उहाँलाई धन्यवाद दिन चाहन्छु, उहाँले महिलाको पीडा बुझ्नुहुँदा रहेछ । उहाँले डिआइजी साबलाई भन्दिनुभयो र पक्राउ पुर्जी जारी भयो । 

अझै शम्भु श्रेष्ठविरुद्ध प्रक्राउ पुर्जी जारी गर्न माग गरेको थिए । यो सबै उबाट सुरु भएको हो । जब कि उ आफै एकीकृत समाजवादी निकट पत्रकार संठगनको सदस्य हो । अहिले पक्राउ पुर्जी जारी भएर जुन नौटंकी प्रस्तुत भइराखेको छ, यो गलत कुरा हो । मलाई कानुन हातमा लिन बाध्य नपारियोस् । किनभने यो देश कानुनी राज्य हो । म कानुन मान्ने मान्छे हुँ । मेरो पनि घर परिवार छन्, आफन्त छन् । यहाँ द्वन्द्व हुनसक्छ । म जोडदार ढंगले माग गर्न चाहन्छु । पत्रकार महासंघले नौटंकी गरिरहेको छ । महिलामाथि हिंसा गर्ने अपराधी पत्रकार र राजनीतिक दलका षड्यन्त्रकारीहरुलाई कठघरामा उभ्याउन सहयोग गर्नुहोस् ।

टिप्पणीहरू