दशैँमा राष्ट्रपतिलाई बहिष्कार, पूर्वराजाको बखान

दशैँमा राष्ट्रपतिलाई बहिष्कार, पूर्वराजाको बखान
सुन्नुहोस्

पूर्वपञ्चहरुको पार्टी राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले दशैँमा राष्ट्रपतिको हातबाट टिका नलगाउन अपिल गरेका छन् । दलीय आधारमा चुनिने राष्ट्रपति सबैको साझा नहुने भएकाले टिका लगाउन नहुने उनको धारणा छ । 

आज समाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मिश्रले जनताले राष्ट्रपतिको हातबाट टिका लगाएर देशमा भइरहेको ‘पाप’ अनुमोदन हुने तर्क गरेका छन् । ‘भावी पुस्ता र देशको माया छ भने अब दशैँमा राष्ट्रपतिको हातबाट टिका थापेर यो देशमाथि भइरहेको पापलाई अनुमोदन नगरौँ’, उनले भनेका छन्, ‘पापको भारी बोकेर नमरौँ ।’

वैकल्पिक राजनीति छोडेर गत चुनावताका राप्रपामा मिसिएका र सबैभन्दा कट्टर राजावादीका रुपमा प्रस्तुत भइरहेका मिश्रले देशको सुरक्षित भविष्यको लागि पूर्वराजाको हातबाट टिका लागाउनु पर्ने जिकिरसमेत गरेका छन् । उनले भनेका छन्, ‘प्रचण्डको संविधान–२०७२ लाई नेपालको संविधान–२०७२ मा परिणत गर्न दबाब दिन राजाको हातबाट टिका लगाऔँ ।’

देशको दूरगामी भलो चाहनेहरुले घण्टौँसम्म लाइनमै बसेर पूर्वराजाको हातबाट टिका लगाउनेमा मिश्रको विश्वास छ । उनले आफू पनि पूर्वराजा ज्ञानेन्द्रकै हातबाट टिका थाप्ने स्पस्ट पारेका छन् । 

बैकल्पिक राजनीति छाड्दा आफैंले अघि सारेको ’विचारभन्दा माथि देश’ भन्ने नारामा जोड दिँदै मिश्र लेख्छन्, ‘विचारभन्दा माथि देशलाई राख्ने, देशको दूरगामी भलो चाहने आम सर्वसाधारणले घण्टौँ लाइन बसेर राजाको हातको टिका लगाउनेछन्, म ति नै आम सर्वसाधारणको पंङ्तिमा उभिएको हुनेछु ।’

टिप्पणीहरू