होटल उद्घाटनमा प्रधानमन्त्रीको विशेष रुचि, ऊर्जामन्त्री पाँच तारेको मालिक

होटल उद्घाटनमा प्रधानमन्त्रीको विशेष रुचि, ऊर्जामन्त्री पाँच तारेको मालिक

देश प्राकृतिक विपत्तिसँग जुधिरहँदा खासै बाहिर ननिस्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज एकाएक होटल उद्घाटनमा देखिनुभएको छ । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा निस्कनसमेत जाँगर नचलाएको आरोप लागिरहेका बेला उहाँ आफ्नै क्याबिनेट मन्त्रीको लगानीमा खुलेको पाँचतारे होटल शुभारम्भ गर्न पुग्नुभएको छ ।     

बूढानीलकण्ठ नगरपालिका–१, मुहानपोखरीस्थित पाँचतारे होटल ‘होलिडे इन’ को आज एक भव्य समारोहबीच प्रधानमन्त्री र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । उक्त होटलका मुख्य मालिक ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का हुन् । 

नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा सांसद सशांक कोइरालाको कोटाबाट मन्त्री बनेका संखुवासभाका खड्का आफैँमा विवादित पात्र हुन् । जलविद्युतमा ठूलो लगानी गरेका उनीमाथि बैंकको अर्बौं ऋण नतिरेको आरोप लाग्दै आएको छ । करोडौँ मूल्यको लैनचौरिस्थित नेपाल स्काउटको जग्गा र भवन भाडामा अनियमितता गरेको अभियोगसँगै चेक बाउन्सको मुद्दा पनि यथावत छ । 

नेपाली काँग्रेसभित्रको समीकरण मिलाउने नाममा आरोपको भारी बोकेरै मन्त्री बन्न सफल भएका खड्का प्रधानमन्त्रीको हातबाट रिबन काटेर होटल उद्घाटन गराउन सफल भएका हुन् । प्रधानमन्त्रीमा नियुक्त जम्मा तीन महिनाको अवधिमा प्रधानमन्त्री ओलीले गरेको यो तेस्रो पाँचतारे होटल उद्घाटन हो । 

यसअघि पनि उहाँले यस्तै विवादित व्यक्तिको लगानीमा खुलेका दुइ वटा होटल आफ्नै हातले उद्घाटन गरिसक्नुभएको छ । भदौ २९ गते प्रधानमन्त्री ओलीले बूढानीलकण्ठस्थित होटल लेमन ट्रि प्रिमियरको शुभारम्भ गर्नुभएको थियो । 

उक्त होटलका मुख्य सञ्चालकहरुमा बाबुकाजी कार्की ,डा. राजेन्द्र केसी, अम्बिका पौडेल,हरिप्रसाद पाठक, नवराज बुर्लाकोटी,दीपक पाण्डे, जनक भट्ट,दिपेन्द्र श्रेष्ठ र जलेश्वर पाण्डे छन् । उनीहरुमध्ये केही सेयर बजारका नामूद खेलाडी हुन् । 

यसअघि प्रधानमन्त्री नियुक्त भएको केही दिनमै ओलीले नक्सालस्थित होटल हिल्टनको उद्घाटन गर्नुभएको थियो । कोरोना महामारीमा ‘थर्मल गन’ काण्ड मच्चाएका र विभिन्न विवादमा मुछिएका शंकर ग्रुपका साहिल अग्रवाल सो होटलका मालिक हुन् । 

विद्युत प्राधिकरणको डेडिकेटेड ट्रंक लाइन महशुल भुक्तानी विवादमा शंकर ग्रुपलाई पर्दा पछाडिको खेलाडी मानिन्छ । गत साउन दोस्रो साता भएको होटल उद्घाटनमा प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक,राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत उच्च पदस्थ अधिकारीहरुको लाइन लागेको थियो ।

टिप्पणीहरू