आफैँले डाकेको सञ्चालक समिति बैठक एसएमएसबाट रोकेका थिए ऊर्जामन्त्रीले

आफैँले डाकेको सञ्चालक समिति बैठक एसएमएसबाट रोकेका थिए ऊर्जामन्त्रीले

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंगलाई अस्ति राति स्पष्टीकरणपत्र बुझाएपछि ऊर्जामन्त्री दीपक खड्काले आफैँले सञ्चालक समिति बैठक डाके । प्राधिकरण सञ्चालक समितिमा मन्त्री अध्यक्ष हुन्छन् भने प्रबन्ध निर्देशकको भूमिकामा सदस्य सचिव ताेकिएका छन् । 

कानुनतः अध्यक्षको निर्देशनमा सदस्य सचिवले बैठक बोलाउँछन् । तर, अस्ति बेलुकी नै मन्त्री खड्काले सबै सदस्यलाई एसएमएस मार्फत् हिजो बिहान साढे ११ बजे राखिएको जानकारी गराएका थिए । तर, माहौल फरक हुँदै गएको थाहा पाएपछि मन्त्रीले बैठक स्थगित गरिएको जानकारी हिजो बिहान साढे ९ बजे गराएका हुन् । 

उनले विशेष कारण उल्लेख गर्दै हिजो बिहान साढे ९ बजे सबैलाई मेसेज पठाएका थिए । यता, कुलमानले भने सरकारले स्पष्टिकरण पत्र बुझाएलगत्तै डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत उपभोग गरेका उपभोक्ताहरुलाई विद्युत महशुल तिर्न १५ दिनको म्याद दिइएको सूचना आज बिहान प्रकाशित गराउन आवश्यक तयारी थालेका थिए ।  

सोहीबमोजिम ४९ उद्योग तथा फर्मको नाम र उनीहरुको बक्यौता रकम उल्लेखित सूचना प्रकाशित गरेर कात्तिक ८ गतेसम्मको म्याद दिइएको छ । ऊर्जामन्त्री दीपक खड्काको निर्णयानुसार घिसिंगलाई दशैंको बिदा हुने अघिल्लो दिन १५ बुँदे स्पष्टिकरण बुझाइएको छ । स्पष्टिकरणमा मूलतः कुलमानको क्षमतामाथि प्रश्न चिन्ह उठाउँदै प्राधिकरणले गरेको खरिद तथा टेण्डरबारे पनि गम्भीर आशंका गरिएको छ ।

टिप्पणीहरू