राष्ट्रिय सभाका अध्यक्ष राति युराेप जाँदै

राष्ट्रिय सभाका अध्यक्ष राति युराेप जाँदै

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल स्वीट्जरल्याण्डको जेनेभा जान लाग्नुभएको छ । उहाँ कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा राति सवा २ बजे दोहा हुँदै जेनेभा जान लाग्नुभएको संसद सचिवालयले जनाएको छ ।

उहाँ अन्तर व्यवस्थापिका संघको १४९ औं महासभामा सहभागी हुन नौ सदस्यीय टोलीको नेतृत्व गर्दै त्यता जान लाग्नुभएको हो । महासभा आइतबारदेखि कात्तिक १ गतेसम्म हुँदैछ । 

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सदस्यहरु सुनिता बराल र निशा डाँगी, राष्ट्रिय सभाका सदस्यहरु तारामान स्वाँर र कृष्णप्रसाद पौडल पनि छन् । त्यस्तै संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, संसद सचिवालयका सहसचिव सीता वाग्ले, उपसचिव नमराज नगरकोटी र अध्यक्षका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा पनि आजै टोली सदस्यको रुपमा दोहा हुँदै जेनेभा जाँदै छन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार टोलीको कात्तिक ३ गते राति १ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

टिप्पणीहरू