कांग्रेसमा अब हुन्छचाहिँ के त ?

कांग्रेसमा अब हुन्छचाहिँ के त ?

कांग्रेस यतिखेर विशेष महाधिवेशनको भुमरीमा फसेको छ । यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर जुटाएपछि हौसिएका गगन थापा शेखर  कोइराला त्यता नखुलेपछि तनावमा छन् । शेखर र शेरबहादुर मिलेपछि गगन थापा मात्रैको बहुमत पुग्दैन । 

‘त्यतिबेला ५४ पर्सेन्ट आउँदा देउवा अस्पतालमै थिए, जेनजीको जगजगी थियो । अब नेतृत्व फेर्नुपर्छ भन्ने माहोल बनेको थियो, देउवालाई नेतृत्व छोड भन्नेहरू थुप्रै  थिए’, स्रोतले भन्यो, ‘गगन र विश्वप्रकाशले यही मौकामा विशेष महाधिवेशन गर्नुपर्छ भनेर हस्ताक्षर शुरु गरे । तिनमा शेखर र गगन दुवैका कार्यकर्ता थिए ।’

‘हस्ताक्षर गरेको भोलिपल्टै शेखर र शेरबहादुरको सल्लाह भयो । शेखरले त्यसपछि हस्ताक्षर गर वा नगर भनेनन् । के गरौँ दाइ भन्दा आफैँ विचार गर भन्दै भित्रभित्रै देउवातिर कुरा मिलाइरहेका थिए,’ स्रोतले भन्यो, ‘अब विशेष गर्न हुँदैन भनेर शेखर खुलिसकेका छन् । यस्तोमा गगनलाई मात्र गाह्रो छ ।’

गगनलाई पछिल्लो समय कुनै बेला शेखरका विश्वासपात्र गुरु घिमिरे, मधु आचार्य र देवराज चालिसेले साथ दिएको ती नेता बताउँछन् । अर्कोतिर विशेष महाधिवेशन बोलाऊ अथवा सुप्रिम कोर्टमा रिट दर्ता गर ५४ पर्सेन्ट देखाऊ भनेर राधेश्याम अधिकारी लागेका छन् ।’
तर, अधिकारीले दिएको सल्लाहमा अरु कानुन व्यवसायीले फरक सुझाव दिए । 

शेखरलाई सभापति दिने निचोडमा शेरबहादुर पुगेका छन् । पहिलो लटमा शेखर, गगन र पूर्णबहादुर नै उठ्ने बताइन्छ । ‘शेरबहादुरले पहिलो लटमा एक्लै कसैलाई सभापति बनाउन सक्दैनन् । हिजो ६०–४० को रेसियो थियो । तर अब त्यो छैन । ६०–४० हुँदा जस्तो उनले पकेटका मान्छेलाई सभापति बनाउन अब सक्दैनन् । 

पहिलो लटमै पूर्णबहादुर र गगन आए भने के गर्ने भनेरसमेत देउवाले शेखरलाई सोधेको एक नेताले जानकारी दिए । ‘गगनले तँलाई सहयोग गर्दैन, तर पहिलो चरणमा गगन र पूर्णबहादुर आए भने के गर्ने ? भन्ने देउवाका छ । यता शेखरले पहिलो लटमै मलाई समर्थन गर्नुस् भनिरहेका छन् । यही कुरामा दुवैको वार्ता चलिरहेको छ,’ स्रोतले भन्यो । ‘यही समीकरणलाई हेरेर एकता महाधिवेशन वा कुनै नाम दिएबारे पनि कुरा भइरहेको छ । चुनावको लागि एकताबद्ध भएको सन्देश दिने भन्नेमा छन्’ स्रोतले भन्यो ।

(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)  

 

टिप्पणीहरू