गुप्तचरमा को–को बढुवा हुँदै ?

गुप्तचरमा को–को बढुवा हुँदै ?

राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) तर्फ रिक्त डिआइजी र एसएसपी पदमा बढुवा प्रक्रिया अगाडि बढेको छ । माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुनुअगावै रिक्त दुई डिआइजी र तीन एसएसपी पदपूर्ति गर्न लागिएको हो ।

कर्णली प्रदेश कार्यालय, सुर्खेतमा कार्यरत ओम खड्का पुस २१ गते एआइजीमा बढुवा भएसँगै एक पद रिक्त छ । खड्काको प्रदेश समन्वय महाशाखामा पदस्थापन हुने सम्भावना छ ।

अर्का डिआइजी भीमबहादुर बुढाथोकी एक महिनाअघि अवकाशमा गएकाले उक्त पद पनि खाली छ । उनले प्रशासन हेर्ने गर्थे । स्रोतका अनुसार एसएसपी राजन उप्रेती र नवीन अधिकारी डिआइजीका प्रबल दाबेदार हुन् । दुई अधिकृत डिआइजीमा बढुवा भएसँगै एसएसपीतर्फ दुई पद रिक्त हुनेछ । गत साउन ४ गते अवकाशमा गएका एसएसपी विकास पाण्डेको पद पनि खाली नै छ । 

सिनियर एसपीहरु टिका पोखरेल, उत्तम खनाल र दीपक खड्काको समेत छिट्टै बढुवा हुने सम्भावना छ । कार्यदक्षताका आधारमा यी तीनपछि टेकराज तिमल्सिना, तुलसी प्रसाईं, सुरेन्द्र कोइरालाको ब्याचबाट एसएसपी बन्ने पालो आउनेछ । ‘आचारसंहिता लागू भएपछि बढुवा गर्न मिल्दैन । त्यसैले बढुवा माघ २ गतेअगाडि नै हुन्छ होला’,स्रोतले भन्यो । स्रोतका अनुसार सरुवाको तत्काल कुनै सुरसार छैन ।  सरकारले फागुन २१ गते हुने चुनावका लागि गुप्तचरलाई पाँच करोड रुपैयाँ उपलब्ध गराएको छ ।

(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)   

टिप्पणीहरू