अध्यक्ष दाहालद्धारा आईपीयू अधयक्षसँग भेट

अध्यक्ष दाहालद्धारा आईपीयू अधयक्षसँग भेट

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघ (आईपीयू) का अध्यक्ष डा.तुलिया अक्सन र महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

आईपीयूको १४९ औं महासभामा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा जानुभएका उहाँले त्यसैक्रममा भेटवार्ता गर्नुभएको हो । भेटमा नेपालको संघीय संसद र अन्तर व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदानप्रदान, लोकतन्त्रका लागि संसदीय भूमिकालगायत विषयमा कुराकानी भएको जनाइएको छ ।  

अध्यक्ष दाहालले भेटमा आईपीयूका विभिन्न सभा तथा कार्यक्रमहरुले लोकतन्त्र, मानव अधिकार, लैंगिक समानता, युवा सशक्तिकरण, दिगो विकासलगायत सवालमा संवाद, सहकार्य र असल अभ्यासहरुको आदानप्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताउनुभयो । 

संसदीय अभ्यास थप परिस्कृत गर्न र लोकतान्त्रिक संस्थाहरु थप सुदृढ गर्न आईपीयूसँग आफू बलियो र घनिष्ट सहकार्यका लागि इच्छुक रहेको उहाँको भनाइ छ । अध्यक्ष दाहालले आईपीयूसँग सीधा सम्पर्कमा रहन यसको सचिवालय नेपालमा पनि स्थापनाका लागि सोच्न आग्रह गर्नुभयो । 

उहाँले संविधानमार्फत नेपालले महिला, अल्पसंख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको जानकारी गराउनुहुदैँ संघीय संसदमा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधिको रुपमा सहभागी रहेको पनि बताउनुभयो । 

जनप्रतिनिधिमार्फत विश्वभरले मानिसले अनुभूत गरेका आवश्यकता, आकांक्षा एंव समस्याहरु अभिव्यक्त गर्न सकिने साझा मञ्चको रुपमा आईपीयूलाई आफूले बुझेको उल्लेख गर्दै उहाँले यसको गरिमा र महत्त्व विश्वमा झनै बढ्दै गइरहेको जनाउनुभयो । 

आईपीयूकी अध्यक्ष अक्सनले नेपालले विगतदेखि नै आईपीयूमा सक्रिय सहभागिता जनाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नेपालको संघीय संसदमा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको जनाउनुहुदैँ समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको बताउनुभयो । 

आईपीयूको सचिवालयलाई अझ व्यवस्थित बनाउन लागिरहेको जानकारी गराउनुहुदैँ अध्यक्ष अक्सनले आईपीयू सचिवालयमा नेपाली प्रतिनिधित्व गराउन पहल प्रतिवद्धतासमेत जनाउनुभएको छ ।

टिप्पणीहरू