जग्गादाताको नाम समेटिएको पुस्तक सार्वजनिक गर्दै गृहमन्त्रीद्वारा प्रहरीको प्रशंसा

जग्गादाताको नाम समेटिएको पुस्तक सार्वजनिक गर्दै गृहमन्त्रीद्वारा प्रहरीको प्रशंसा

नेपाल प्रहरीलाई निःशुल्क जग्गा दिने दाताहरुको नामावली तथा प्रहरीसँग सम्बन्धित अक्षकोषको विवरण समेटिएको पुस्तक सार्वजनिक गरिएको छ ।

६९ औं प्रहरी दिवसको अवसरमा आज नक्सालस्थित प्रहरी हेडक्वाटरमा आयोजित एक समारोहबीच गृहमन्त्री रमेश लेखकले पुस्तिका लोकार्पण गर्नुभएको हो । सो अवसरमा उहाँले मुलुकको अपरिहार्य र महत्त्वपूर्ण संस्थाको रुपमा प्रहरी संगठन स्थापित भएको बताउनुभयो । 

राज्य र नागरिकबीचको पहिलो सम्पर्क सूत्रको रुपमा प्रहरी संगठन रहेको उल्लेख गर्दै गृहमन्त्रीले आन्तरिक शान्ति सुरक्षा, कानून कार्यान्वयन, मानव अधिकार संरक्षण, अपराध नियन्त्रण, अनुसन्धान, विपत्ति र प्रकोपमा खोज तथा उद्धार, सवारी व्यवस्थापनदेखि अन्तर्राष्ट्रियस्तरमा नेपाल प्रहरीले गरेको भूमिकाको प्रशंसा गर्नुभयो । 

राज्यको तर्फबाट नागरिकसमक्ष सबैभन्दा पहिले पुग्ने संवाहक शक्तिका रुपमा प्रहरीको पहिचान बनेको जनाउँदै उहाँले भन्नुभयो, ‘अन्यायमा परेका जोकोहीलाई न्याय दिलाउने र कसुरदारलाई दण्ड दिने राज्यको पहिलो प्रतिनिधि प्रहरी हो । मानव अधिकारको संरक्षक र पालक पनि हो । यति धेरै जिम्मेवारी र दायित्व सायद अरु कुनै संगठनमा छैन ।’

जुनसुकै कठिन घडीमा पनि निष्ठावान रही कर्तव्यपराण रहने प्रहरीको मौलिक चरित्र रहेको गृहमन्त्री लेखकले बताउनुभयो । उहाँले समाजको विकास र परिवर्तनसँगै प्रहरी संगठन पनि गतिशील हुन आवश्यक रहेको र प्रहरीको व्यवसायिकता र सेवाको क्षेत्रलाई तदनुरुप नै विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । 

साथै, महिला तथा बालबालिकाउपर हुने हिंसा, कसुरजन्य कार्य, भेदभाव, छुवाछुतलगायत कुनै पनि अपराधिक कर्म र सञ्जालप्रति सजग रहन र पूर्वाग्रह र मलैजा नगरी शून्य सहनशीलताको नीतिअनुरुप कानूनको दायरामा ल्याउन पनि सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देश गर्नुभयो । 

प्रहरी दिवसको अवस्थामा गृहमन्त्री लेखकले हेर्डक्वाटरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै वीरगति प्राप्त प्रहरीका आश्रित परिवारलाई कदरपत्र पनि प्रदान गर्नुभएको छ ।

टिप्पणीहरू