हर्क साम्पाङलाई भेट्न र भात खान बेलायतमा पैसा उठाइँदै

हर्क साम्पाङलाई भेट्न र भात खान बेलायतमा पैसा उठाइँदै

बेलायतका नेपालीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेट्न र भात खान शुल्क तिर्नुपर्ने भएको छ । धरान समाज यूकेको निमन्त्रणामा मेयर साम्पाङ श्रीमती निर्मला लिम्बू र छोराका साथ भोलि अपरान्ह बेलायत पुग्ने कार्यक्रम छ । 

उनी सहभागी हुने हरेक कार्यक्रमको निम्ति आयोजकले प्रवेश शुल्क तोकेका छन् । आइतबार एम्पायर हलमा हुने ‘मिट एन्ड ग्रीट’ मा मेयर साम्पाङलाई भेट्न १५ र उनीसँगै डिनरका लागि ७० बेलायती पाउण्ड तोकिएको छ ।  

पैसा उठाउने जिम्मा भगवान चाम्लिङ, आकाश सुनुवार र डिल्लिराम राईले लिएको बताइन्छ । धरान समाज यूकेले चिन्डेडाँडामा सुम्निमा र पारुहाङ मूर्ति स्थापनाका लागि आर्थिक संकलनसहित अन्य विभिन्न कार्यक्रमका लागि मेयर साम्पाङ बेलायत आउन लागेको जनाएको छ । उनको पहिलो कार्यक्रम आगामी शनिबार ग्रयाण्ड बर्सटिन होटल फोकस्टनमा हुँदै छ ।

लन्डन नर्थला पार्क नर्थहोल्टमा २७ अक्टोबर बिहान हुने नर्थहोल्ट टेन के रनमा बैकुण्ठ मानन्धर र मेयर साम्पाङ ‘गेष्ट अफ अनर’ का रुपमा सहभागी हुने बताइएको छ । साम्पाङले बेलायतमा रहँदा मेडवे काउन्सिल, फोक्सटन टाउन काउन्सिल, केन्ट काउन्टी काउन्सिल आदिमा स्थानीय जनप्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम तय भइसकेको छ ।

आगामी नोभेम्बर २ मा नेपाल फर्कनुअघि उनको आसफोर्डका प्रि एण्ड प्राइमरी स्कुल भ्रमण, युनिभर्सिटी अफ केन्ट, टुआरजिआर भ्रमण, किरात राई यायोख्या भवन र वेष्ट मिनिष्टरस्थित संसद भवन अवलोकनलगायत कार्यक्रम राखिएको छ ।

टिप्पणीहरू