दशैंअघि सरुवा भएका राष्ट्र बैंकका हाकिमहरु तोकिएको कार्यालयमा

दशैंअघि सरुवा भएका राष्ट्र बैंकका हाकिमहरु तोकिएको कार्यालयमा

नेपाल राष्ट्र बैंकका १४ जना निर्देशकको सरुवा भएको छ । दशैंको बिदा हुनुभन्दा अघिल्लो दिन सरुवा भएका सबै जनाले आजसम्म तोकिएको कार्यालयमा हाजिर हुनुपर्ने छ । 

सरुवा भएकामध्ये बैंक सुपरीवेक्षण विभागका निर्देशक रामप्रसाद गौतमलाई वित्त व्यवस्थापन विभागमा, गभर्नरको कार्यालयमा रहेका किरण पण्डितलाई भुक्तानी प्रणाली विभागमा, मौद्रिक व्यवस्थापन विभागका डा. रामशरण खरेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा गरिएको छ । खरेल पूर्व गभर्नर तथा हाल प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार रहेका युवराज खतिवडाका छोरीज्वाईं हुन् । खतिवडा अर्थमन्त्री हुँदा खरेललाई कनिष्ठ हुँदाहुँदै पनि मन्त्रालयमा सल्लाहकार बनाइएको थियो । खतिवडाले सार्वजनिक गरेको तत्कालीन बजेटमा विदेशी चकलेट आयातमा कर छुट दिइएकोलगायत धेरै विवादास्पद विषयमा खरेलले मध्यस्थकर्ताको भूमिका निभाएको आरोप लागेको थियो । 

बैंकले हालै गरेको सरुवामा वित्तीय जानकारी इकाईका निर्देशक दीर्घबहादुर रावललाई मुद्रा व्यवस्थापन विभागमा पुर्याइएको छ । त्यहाँका बासुदेव भट्टराईलाई इकाईमा लगिएको छ । विदेशी विनिमय व्यवस्थापन विभागका निश्चल अधिकारीलाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा, नियमन विभागका राजेन्द्र भट्टराईलाई विदेशी विनियममा पुर्याइएको छ ।

संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका हिमप्रसाद न्यौपानेको सरुवा गभर्नरको कार्यालयमा, बैंक सुपरीवेक्षण विभागका शुभाषचन्द्र घिमिरेलाई भुक्तानी प्रणाली विभाग र उक्त विभागका निभा श्रेष्ठलाई मुद्रा व्यवस्थापन विभाग पुर्याइएको छ ।

केशवबहादुर केसीलाई बैंकर्स प्रशिक्षण केन्द्रमा लगिएको छ । केसी सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा थिए । प्रशिक्षण केन्द्रका शैलेन्द्र रेग्मीलाई बैंक सुपरीवेक्षण विभाग, आर्थिक अनुसन्धान विभागका डा.राजनकृष्ण पन्तलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा लगिएको छ । सहदेव चन्दलाई गैर बैंक तथा वित्तीय संस्था सुपरीवेक्षण विभागबाट सूचना प्रविधि विभागमा सरुवा गरिएको ईश्वरीप्रसाद भट्टराईले जारी गरेको सर्कुलरमा उल्लेख छ ।

टिप्पणीहरू