रविलाई समात्ने पत्रको व्यहोरा : मानिस पक्राउ गरी पठाइदिनू

रविलाई समात्ने पत्रको व्यहोरा : मानिस पक्राउ गरी पठाइदिनू

पोखराको सूर्यदर्शन सहकारी घोटालामा संलग्नताको आरोपमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरी पठाइदिन कास्की प्रहरीले पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत डिएसपी वसन्तकुमार शर्माले सिआइबी, उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन र जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्र लेखेर रविलाई पक्राउ गरी कास्की पठाइदिन अनुरोध गरेका छन् ।

‘मानिस पक्राउ गरी पठाइदिने सम्बन्धमा’ व्यहोराको पत्रमा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थायी वतन भई हाल बूढानीलकण्ठ नगरपालिका–८ हात्तिगौंडा बस्ने लालचन्द्र लामिछानेको छोरा वर्ष ४९ को रवि लामिछानेलाई फेला परेमा पक्राउ गरी यस कार्यालयमा पठाइदिनु हुन’ भनिएको छ । 

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालिन प्रबन्ध निर्देशक भनेर उल्लेख गरिएको पत्रमा लेखिएको छ, ‘प्रस्तुत विषयमा कृष्णप्रसाद जैसी समेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको पूर्वअध्यक्ष एवम् सञ्चालक गितेन्द्रबाबु राई समेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा पक्राउ गर्न सम्मानित कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भई आएको हुँदा पक्राउ अनुमति यसै साथ संलग्न राखी पठाईएको छ प्राप्त भए पश्चात निज प्रतिवादीको खोजतलास गरी फेला परेमा पक्राउ गरी यस कार्यालयमा पठाइ दिनुहुन सादर अनुरोध गरिएको छ ।’

लामिछानेलगायत १४ जनाविरुद्ध आज अपरान्ह जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको थियो । उनलाई समात्न प्रहरी टोली रास्वपा मुख्यालय, बनस्थली पुगिसकेको छ । लामिछानेलाई स्थल मार्ग हुँदै पोखरा लगिने बुझिएको छ । यता रास्वपाका कार्यकर्ताले पनि उनीसँगै पोखरा जाने बताउन थालेका छन् ।

‘प्रहरीलाई सघाउ, कुनै अवरोध नगरौँ । हामी फरक राजनीतिक गर्न आएका छौँ । प्रहरीलाई प्रतिकार नगरौँ । अब आधा घण्टामा सभापति पार्टी कार्यालयबाट ओर्लिएर पोखरा जानुहुन्छ । उहाँ सडक मार्ग भएर पोखरा जानुहुन्छ । उहाँको साथमा हामी पनि केही जान्छौँ’, पार्टी मुख्यालयमा भेला भएका कार्यकर्तालाई रास्वपाका सहप्रवक्ता मनिष झाले भने ।

टिप्पणीहरू