रास्वपाका एक दर्जन नेता र सांसदविरुद्ध गृह मन्त्रालयमा उजुरी

रास्वपाका एक दर्जन नेता र सांसदविरुद्ध गृह मन्त्रालयमा उजुरी

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानमा बाधा पुर्याउनेमाथि कारवाहीको माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ । 

सिन्धुलीका युवराज सफलले आज मन्त्रालयमै पुगेर उजुरी दर्ता गराएका हुन् । रास्वपाले अराजक भिड जम्मा पारेर राज्यले गरेको काम कारबाहीमा बाधा हालेकाले सो पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र सांसदलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न उजुरीमा माग गरिएको छ । 

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण पदाधिकारी, सदस्य र सांसदहरु यतिखेर नेपाल सरकारले सहकारी ठगी र संगठित अपराधमा संलग्न भनी पक्राउ गरी अनुसन्धान गर्दै आएको रवि लामिछानेलाई अनुसन्धान गर्न नहुने भन्दै आन्दोलनको घोषणा गरी सरकार र सम्मानित अदालतले गर्ने कार्यमा अवरोध समेत सिर्जना गराई शक्ति र अराजक भीडको आडमा अनुसन्धान प्रभावित पार्न खोज्दै छन्,’ उजुरीमा भनिएको छ, ‘निजहरुलाई मुलुकी अपराध संहिा, २०७४ को दफा (५०) राजद्रोहसम्बन्धी कसुरमा उपदफा (३) बमोजिम तत्काल पक्राउ गरी तीन वर्ष कैद र तीस हजार रपैयाँ जरिवाना गर्ने गरी आवश्यक कानूनी कारबाही गर्न तत्काल प्रहरी प्रधान कार्यालयको नाममा पत्र काट्न यसै निवेदनमार्फत अनुरोध गर्न चाहन्छु ।’

आवश्यक परेको खण्डमा रास्वपाका सम्पूर्ण केन्द्रीय पदाधिकारी, सदस्य र प्रतिनिधिसभा सदस्यविरुद्ध प्रहरीमा जाहेरी दिने युवराजको चेतावनी छ । उजुरीमा अनुसन्धानलाई प्रभावित बनाउन खोज्ने सो पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा.स्वर्णिम वाग्ले, सहमहामन्त्री, कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिनकुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष वसुमाया तामाङ र दिवराज बोहरा, सहप्रवक्ता मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईसहित सबै केन्द्रीय सदस्यलाई कारबाही गर्न माग गरिएको छ । 

‘राजनीतिक पार्टीको केन्द्रीय निकाय एंव प्रतिनिधिसभाजस्तो महत्त्वपूर्ण जिम्मेवारीमा बस्ने र राज्यको काम कारबाहीमा बाधा अड्चन ल्याउनेहरुलाई हदैसम्मको कारबाही गर्न जोडदार माग गर्दछु,’ युवराजले भनेका छन्, ‘अन्यथा, कानूनी उपचारमा जान बाध्य हुने पनि सूचित गर्न चाहन्छु ।’

टिप्पणीहरू