छविलाई बुटवल पुर्याइयो, रविलाई पछि

छविलाई बुटवल पुर्याइयो, रविलाई पछि

सहकारी ठगी अभियोगमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई बुटवल लगिएको छ । 

सूर्यदर्शन सहकारीको रकम हिनामिना सम्बन्धी अनुसन्धान सकेपछि प्रहरीले सुप्रिम सहकारीको बचत अपचलन सम्बन्धमा अनुसन्धान गर्न उनलाई बुटवल पठाएको हो । 

कास्की प्रहरीलाई छविलालले ३२ पृष्ठ लामो बयान दिएका छन् । अब उनीसँग रुपन्देही प्रहरीले पनि बयान लिनेछ । 

गत असोज ६ गते काठमाडौँबाट पक्राउ परेको छविलाई सोही रात पोखरा लगिएको थियो । गएको शुक्रबारमात्रै कास्की जिल्ला अदालतले तेस्रो पटक २० दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । बुटवल प्रहरीले बयान लिइसकेपछि उनलाई पुनः पोखरा नै फर्काइने बताइएको छ । 

छविलाललाई कास्की प्रहरीले हिरासतभित्र रहेको सुरक्षा गार्डको कोठामा राखेको थियो । त्यहाँ हिरासतको लागि पाँच वटा कोठा छन् । जसमध्ये महिला र अल्पसंख्यकका लागि एक–एक वटा र बाँकी पुरुष थुनुवा कोठा हुन् । सबै कोठामा थुनुवा धेरै भएपछि उनलाई एकजना सुरक्षा गार्डको कोठामा राखिएको प्रहरी स्रोतले जानकारी दियो । 

रोचक के छ भने, छविलालका मित्र तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि अर्को सुरक्षा गार्डको कोठामा राखिएको छ । शुक्रबार काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही रातदेखि कास्की प्रहरीको हिरासतमा छन् । जिल्ला अदालतले हिजो लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ । 

हिरासतका तीन वटा कोठामा थुनुवाहरुको भद्रगोल देखेपछि लामिछानेले ‘बरु गार्डकै कोठामा बस्छु’ भनेको बताइन्छ । स्रोतका अनुसार छवि र रविको कोठा वल्लो–पल्लो हो । 

देशका मुख्य सहरमा सहकारी खोलेर गैरकानुनी तवरले निजी कम्पनीमा रकम लगानी गर्ने जिबी राई समूहका महत्वपूर्ण सदस्य रविलाई पनि पोखराको अनुसन्धानपछि बुटवल पुर्याइने सम्भावना देखिन्छ ।

टिप्पणीहरू