छिमेकीसँग जोडिन खोलामा पाइप
ताप्लेजुङलाई उत्तरी चीनसँग जोड्न स्थानीय गोलाबासी निरन्तर लागिपरेका छन् । गत साल मात्र सडक सञ्जालले जोडिएको ओलाङचुङगोलाबाट टिप्तालासम्म २४ किलोमीटर सडक स्थानीयको सक्रियतामा निर्माण भएको छ ।
स्वदेश तथा विदेशमा रहेका स्थानीय गोलाबासी र तत्कालीन गाविसको सहयोगमा सन् २०१७ को जुलाई महिनामा ताप्लेजुङको उत्तरी नाका सडक सञ्जालसँग जोडिएको हो । ओलाङचुङ गोला–टिप्तालाको बीचमा पर्ने तमोर नदीमा त्यतिबेलै ह्युम पाइप राखेर सडक सुचारु गरिएको थियो । ताप्लेजुङबाट ओलाङचुङगोला सडक छिटो जोड्न ओलाङचुङगोलाबाट दक्षिणतर्फ कोरोना महामारीअघि चिनियाँ मेशिन प्रयोग गरिएकै हो ।
लेलेप गाउँपालिकाको किसोङ र गोलाको सुकेपानी (ढोक्पुकम्बु), मगावा, रामस्याङ पाटीमा कडा चट्टानले सडक निर्माणमा ढिलो हुने भएकाले ओलाङचुङबाट तल्लो भागको सडक निर्माणमा ह्युमपाइप राख्न लगाइयो । दोबाटो र जोङिमलाई लक्ष्यित ती ह्युमपाईपका लागि चीन सरकारलाई अनुरोध गरिएको थियो तर कोभिडका कारण ती ह्युमपाइप टिप्तालामै रहे । मेशिनको सहाराले मात्र ओसार्न सकिने भएकाले गत वर्षको असारमा मात्र सडक टिप्ताला पुगेपछि यो वर्ष ल्याइएको हो ।
सुपर तमोर हाइड्रोपावर कम्पनीको सहयोगमा ह्युमपाइपहरू सुकेपानी, जोङिम र दोबाटोमा राखिएको छ । सुकेपानी सुपर तमोर हाइड्रोपावरको इन्टेक जाने बाटोमा पर्छ । आगामी केही दिनमा २९ वटा ह्युमपाइप राख्ने योजना छ ।
टिप्पणीहरू