हावा र हवार्ई स्वागत

हावा र हवार्ई स्वागत
सुन्नुहोस्

हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको देखियो, रास्वपाका नेता डा. स्वर्णिम वाग्लेलाई गरिएको हवार्ई स्वागत । अर्थात् एउटा मान्छेले हावामा उडेर . वाग्लेको गलामा फूलमाला चढाई गरिएको स्वागत । हावामा उडेर गरिएको स्वागत भएकाले यसलाई ‘हवाई स्वागत’ पनि भन्न सकिन्छ । यो स्वागतलाई कतिपयले त नौटंकी भनेर पनि आलोचना गरे ।

तर सिंहराजलाई लाग्छ कि यो मनासिबै स्वागत हो । रास्वपा र यसका नेताहरूको चरित्रसँग मेल खाने समयोचित स्वागत भन्दा पनि हुन्छ । किनभने हावा रास्वपाको सबैभन्दा प्रमुख हतियार हो । हावासँग रास्वपाको ठूलो साँठगाँठ पनि छ । जुन पार्टीको हावासँग यति ठूलो साँठगाँठ छ त्यहाँ यस्ता हवार्ई गतिविधिलाई स्वाभाविक नै मान्नुपर्छ । 

रास्वपाका नेताहरूको हवाई भाषण त सबैले सुनेकै होलान् । रास्वपाको हवाई योजना पनि देखेकै होलान् । देश विकासको हवाई कल्पना पनि देखेकै होलान् । यो पार्टीका अध्यक्ष जो छन्, उनी त झन् हावासँग मितेरी नै लाउँछन् कि के हो कुन्नि, अहिले देशका विभिन्न खोरहरूको हावा खाँदै छन् । सरकारमा जाँदा गृह मन्त्रालय नै चाहिने । गृहमन्त्री भएर के के गर्लान् भन्ठानिएको थियो, दुई महिनामै हावा खाइहाले । उनले खोरको हावा खाइरहँदा पार्टीका अन्य नेताहरू सडकमा आएर हावा खाइरहेका छन् । अध्यक्षको नागरिकता हावा थियो । अर्को बनाउनुप¥यो । पासपोर्टसमेत हावा रहेछ । सहकारीमा थुप्रै हावा काम गरेका रहेछन् । 

अध्यक्षका यी कर्तुतको कारण अहिले त रास्वपा पार्टीले नै हावा खालाजस्तो छ । सबैजना चौरासीको चुनाव पर्खिरहेका छन् । यदि अध्यक्षले त्यतिबेलासम्म पनि खोरकै हावा खाइरहे भने त चुनावमा पनि खाने हावा नै हो । यस्तो हावाप्रिय पार्टीका नेतालाई स्वागत गर्ने भनेको हावामा उडेर नै हो । धर्तीमा टेकेर स्वागत गर्न सकिन्न ।   
 

टिप्पणीहरू