‘हिंसालाई जनयुद्ध भन्न रुचाउने, २००७ सालको आन्दोलनलाई नस्वीकार्ने ?’

‘हिंसालाई जनयुद्ध भन्न रुचाउने, २००७ सालको आन्दोलनलाई नस्वीकार्ने ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ७ गतेको प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाउन निर्देशन दिनुभएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन तथा कार्यक्रम बैठकमा उहाँले जनताको दिवसको तयारी गर्न निर्देशन दिनुभएको बताइन्छ । 

प्रधानमन्त्रीले जनताको बलिदानीबाट प्राप्त संविधान दिवस, प्रजातन्त्र, दिवस, लोकतन्त्र दिवसलाई जनस्तरबाटै मनाउनुपर्ने धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, ‘नेपालमा सबैभन्दा ठूलो राजनीतिक परिवर्तन २००७ सालमा भएको हो । हिंसालाई जनयुद्ध भन्न रुचाउने तर २००७ सालको आन्दोलनलाई स्वीकार्न तयार नहुने कस्तो प्रवृत्ति हो ?’

जनस्तरबाट प्रजातन्त्र दिवस मनाउन बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन गरेको छ । उपप्रधानमन्त्रीहरु, मन्त्री एवम् राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महाहनगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखलाई समितिको सदस्य तोकिएको छ । सातै वटा प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गर्ने निर्णय भएको छ । 

आगामी फागुन ६, ७ र ८ गते मुलुकभर र विदेशस्थित नेपाल राजदूतावास, कुटनीतिक नियोग एवम् वाणिज्य दूतावासहरुमा समेत दीपावली गरिँदै छ । फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम राखिएको छ ।
 

टिप्पणीहरू