समस्या उस्तै : माओवादी ठहर, कर्मकाण्डी : ज्ञानबहादुर
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे विपक्षी दलका तर्फबाट मिश्रित प्रतिक्रिया आएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यथार्थपरक बजेट ल्याएको दाबी गरिरहँदा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षीहरुले शंकाको नजरले हेरेका छन् ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्ने आजको आवश्यकतालाई बजेटले सम्बोधन गर्न नसकेको बताए । परम्परागत र अघिल्ला वर्षहरुको निरन्तरताको रुपमा बजेट आएको उनको प्रतिक्रिया छ ।
पूर्वअर्थमन्त्री समेत रहेका उनले देशको अहिलेको आर्थिक समस्या समाधान गर्न बजेटले नसक्ने जिकिर गरेका छन् ।, ‘विषयहरू लेख्ने सबै लेखिएकै छन् । तिनै कुरा दोहोरिने हो, कपीपेस्ट गर्ने हो । नाराहरू चैं कम रहेछन्’, शर्माले भने ।
अर्का माओवादी नेता वर्षमान पुनले पनि बजेट आशा जगाउने खालको नभएको टिप्पणी गरेका छन् । चालु वर्षको बजेट प्रस्तोतासमेत रहेका पूर्व अर्थमन्त्री उनले अर्थतन्त्रलाई समग्र चलायमान बनाउने ढङ्गले बजेट नआएको प्रतिक्रिया दिएका हुन् ।
अर्थमन्त्री पौडेलले नियमित अवस्थामा जस्तो बजेट ल्याएको उनको जिकिर छ । गत वर्षको बजेटमा आफूहरूले अर्थतन्त्रका ५ क्षेत्र उल्लेख गरे पनि अहिले त्यसरी क्षेत्र केन्द्रित नगरिएको पुनको भनाइ छ ।
‘गत वर्षको बजेटमा हामीले अर्थतन्त्रका ५ क्षेत्र भनेका थियौं । अहिले कुन क्षेत्र फोकस हो, त्यो पनि छैन । ७ प्रदेशलाई ७ वटा विशेषतामा विकास गर्ने भनिएको थियो, त्यसबारे केही बोलेको छैन । गण्डकी आर्थिक त्रिभुज लगायतका अर्थतन्त्रका केन्द्रका चर्चा थियो, यस वर्ष त्यस्ता पनि छैनन् । गत वर्ष स्टार्टअप लगायतका खास गरी आइसिटी क्षेत्रलाई विशेष फोकस गरिएको थियो, अहिले त्यो पनि छरिएर रहेको छ’, बजेटमाथि आलोचनात्मक टिप्पणी गर्दै उनले भने, ‘आशा जगाउने ढङ्गले, अर्थतन्त्रलाई समग्र चलायमान बनाउने ढङ्गले भन्दा पनि जस्तो छ, जस्तो छ नियमित रूपमा गरौँ भन्ने खालको नियमित बजेटको रूपमा आएको छ ।’
विद्युतीय गाडीको करलाई यथावत राख्नुलाई भने पूर्व अर्थमन्त्री पुनले सकारात्मक मानेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताले भने बजेटको विरोध नभई आलोचनात्मक टिप्पणी गरेका छन् । अर्थविद्समेत रहेका सो पार्टीका उपसभापति स्वर्णिम वाग्लेले बजेट परम्परागतको भए पनि उत्ताउलो र गैरजिम्मेवार नरहेको बताए ।
‘सरकारले आज १९ खर्ब ६४ अबको बजेट जुन पेश गरेको छ त्यो धेरै उत्ताउलो र गैरजिम्मेवार छैन भन्ने टिप्पणी हाम्रो छ । पछिल्लो समय राष्ट्रिय योजना आयोगले हाम्रो अर्थतन्त्रको आकार ६१ खर्बको जुन इकोनोमी प्रोजेक्ट गरेको छ’, वाग्लेले भने, ‘त्यसलाई ५ प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको मुद्रास्फिती जोडेर साढे ११ प्रतिशतको वद्धि गर्ने हो भने यो बजेटको समापन हुँदासम्म ६७ खर्बको नेपाल सरकारको अर्थतन्त्र हुन्छ । त्यसैले अर्थमन्त्रीज्यूले जुन पेस गर्नुभएको बजेटलाई हामीले धेरै गैरजिम्मेवार मानेका छैनौँ ।’
यद्यपि सरकारले ठूलो बजेट ल्याएकाले कार्यान्वयन हुनेमा भने उनको आशंका छ । ठूलो आकारमा बजेट फुक्ने तर माघमा गएर सुकाउने पुरानो रोगको शिकार हुने चिन्ता वाग्लेले गरेका छन् । १६ खर्बभन्दा बढी खर्च हुने आधार नरहेको उनले बताए ।
यता, व्यवस्थाकै विपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बजेटको कडा विरोध गरेको छ । सो पार्टीका नेता तथा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले निर्देशिकामा आउने कुराहरु बजेटमा ल्याएको भन्दै कटाक्ष गरे ।
कम्युनिष्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री रहेको सरकारका अर्थमन्त्रीले ल्याएको बजेटलाई उनले पुरातनवादी बजेटको संज्ञासमेत दिएका छन् । बजेटमा केही पनि नयाँ नभएको भन्दै उनले काम चलाउनक लागि कर्मकाण्डी रुपमा आएको दाबी गरे ।
‘यो बजेटमा निर्देशिकामा आउने कुरा बजेटमा आएको छ । राष्ट्र बैंकले निर्देशिकामा ल्याउने कुराहरु बजेटमा ल्याइएको छ’, शाहीले भने, ‘बजेट पुरातनवादी नै छ केही नयाँ छैन । काम गर्नका लागि एउटा कर्मकाण्ड हो बजेट पनि कर्मकाण्डी नै छ ।’
टिप्पणीहरू