पार्टी नेता र वकिलहरुसँग सल्लाह गर्दै माधव नेपाल

पार्टी नेता र वकिलहरुसँग सल्लाह गर्दै माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पार्टीका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर राजधानी फर्किन लाग्नुभएको छ । काठमाडौँ आइपुगेपछि पार्टी सचिवालय बैठक बस्ने बुझिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उहाँ गृह बाराबाट फर्कन लाग्नुभएको हो । 

गृह जिल्लामा पार्टी संगठनका काम सकाएर उहाँ बारा पुगेको बेला काठमाडौंमा मुद्दा दायर गरिएको छ । राजधानी आइपुगेपछि आजै साँझ कानुन व्यवसायीहरुसँग परामर्श गर्ने तयारी छ ।

उत्पन्न नयाँ परिस्थितिबारे बोल्दै नेपालले आफू ‘लुपहोल’मा परेको बताउनुभएको छ । पतञ्जली योगपीठको जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको खबरपछि उहाँले उक्त कुरा उल्लेख गर्नुभयो । 

बारास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले मुलुकलाई हानी हुने कुनै काम नगरेको प्रष्ट पार्नुभयो । ‘मैले कुनै अनुचित काम गरेको छैन र त्यस्ता कामलाई प्रोत्साहन पनि दिएको छैन’, उहाँले भन्नुभयो, ‘कसले कसरी के के लुपहोल राख्यो,त्यो लुपहोलमा ध्यान पुग्यो पुगेन,यावत कुराहरूको बारेमा राम्ररी नबुझी केही भन्न सक्दिनँ ।’ उहाँले आफूले आजसम्म कुनै पनि मन्त्रीलाई त्यस्तो अनुचित काम गर्न निर्देशन नदिएको दावी गर्नुभएको छ ।

टिप्पणीहरू