मलामी घरको जश लिन होड
नेपालीमा एउटा उखान छ,‘काम गर्ने कालु,मकै खाने भालु ।’ सोही उखानसँग मिल्दोजुल्दो घटना झापामा देखिएको छ । संघको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा झापाको हल्दीबारी गाउँपालिका–२, देउनिया खोलाको उत्तर किनारमा एउटा मलामी घर निर्माण भइरहेको छ ।
सो घाटका लागि मन्त्रालयबाट एक करोड रुपैयाँ बजेट स्वीकृत भएको थियो । टेण्डर प्रक्रियाबाट ६१ लाख ६३ हजार ५९ रुपैयाँमा निर्माणको ठेक्का दिइएको छ । सो मलामी घरको श्रेय लिन पार्टीहरुबीच होडबाजी चलेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता सांसद निशा डाँगीको पहलमा सो मलामी घर बनेको दाबी गरिरहेका छन् ।
कान्छी सांसदका रुपमा परिचित डाँगीको गृहजिल्ला झापा हो । उता, नेकपा एमालेका कार्यकर्ता भने त्यसलाई खण्डन गरेर भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको नाम लिइरहेका छन् । किनकि दाहाल पनि झापाली हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि मलामी घरको जस लिन खोज्दैछ ।
सो गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ पर्छन् । पार्टीहरुमा जस लिने होड चलिरहँदा निर्माण कार्यको गुणस्तर, पारदर्शिता र प्रगतिको विषयमा भने सबै अनविज्ञ देखिएका छन् ।
टिप्पणीहरू