कोशीमा बगेका गोताखोरबारे गृहमन्त्रीको चासो

कोशीमा बगेका गोताखोरबारे गृहमन्त्रीको चासो

गृहमन्त्री रमेश लेखकले हिजो कोशीमा दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे चासो राखेका छन् । सशस्त्र प्रहरी मुख्यालय, हल्चोक पुगेर घटनाबारे सोधखोज गरेका हुन् । 

गृहमन्त्री लेखकसहितको टोलीलाई निमित्त प्रमुख सशस्त्रका एआइजी नारायणदत्त पौडेलले घटनाबारे जानकारी गराएको बताइन्छ । एसएसपी दिगबिजय सुबेदीले हिजोको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको संख्या, अन्य विपद् उद्धारका तालिम प्राप्त जनशक्ति तथा काम कारवाहीबारे विस्तृत रूपमा गृहमन्त्रीलाई अवगत गराएको सशस्त्रले जनाएको छ ।

सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति डिआइजी कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक एसएसपी नेत्र कार्कीले पनि भर्चुअल माध्यमबाट घटनाबारे जानकारी गराएका थिए ।

गृहमन्त्री लेखकसँगै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा, निमित्त गृह सचिव जयनारायण आचार्य, सह–सचिव रामचन्द्र तिवारीलगायत गृह मन्त्रालयका पदाधिकारीहरू सहभागी भएका थिए।

त्यसक्रममा गृहमन्त्री लेखकले घटनाप्रति दुःख व्यक्त गर्दै खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बीमाबारे मन्त्रालयले थप कार्य गर्ने प्रतिवद्धता जनाए । अभ्यासका क्रममा ज्यान गुमाएका राष्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेकोमा उनले जोड दिएका छन् ।

टिप्पणीहरू