अखिलमा चुनावी तालिका सार्वजनिक, ‘नो सेलेक्सन’ भन्दै हलमा नाराबाजी

अखिलमा चुनावी तालिका सार्वजनिक, ‘नो सेलेक्सन’ भन्दै हलमा नाराबाजी

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी २४ औँ महाधिवेशनमा मतदाता नामावली प्रकाशन गरेको केही घण्टामै उम्मेदवारी मनोनयन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरिएको छ ।

सेवन्तराज निरौला प्रमुख रहेको निर्वाचन कमिटीले आज र भोलि सबै प्रक्रिया सम्पन्न गर्नेगरी तालिका निकालेको हो । मतदान बाहेक सबै प्रक्रिया आजका लागि तोकिएको छ । 

तालिकाअनुसार आज दिउँसो १ बजेभित्रमा मतदाता नामावली प्रकाशन गरिने छ । २ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोधको समय दिइएको छ । पौने ३ मा दाबी बिरोध र सुधारको सूचना निकालेपछि एक घण्टाभित्र छानविन गरी ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ । 

मतदाता नामावली प्रकाशनपछि उम्मेदवारी मनोनयन दर्ताको प्रक्रिया शुरु हुने कार्यतालिका छ । जसमा अपराह्न ३ देखि साँझ ५ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण हुनेछ भने अपराह्न ४ देखि बेलुका ६ बजेको समयलाई फारम दर्ताको समय तोकिएको छ ।

बेलुका अबेर ८ बजे प्रारम्भिक नामावली सार्वजनिक हुनेछ । त्यसपछि दाबी, विरोध, छानविन र उम्मेद्वारी फिर्तालगायतका सबै प्रक्रिया पूरा गरेर ११ बजे राती अन्तिम नामावली प्रकाशन गरिनेछ । 

मतदानको समय भने भोलि बिहान १० देखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ । मत गणना, निर्वाचन परिणाम घोषणा, प्रमाण पत्र वितरण र शपथ ग्रहण भोलि नै गर्नेगरी तालिका निकालिएको छ । 

निर्वाचन कमिटीले औपचारिकता तथा वैधानिकता पूरा गर्न निर्वाचन कार्यक्रम सार्वजनिक गरेपनि अनेरास्ववियुको नेतृत्व चयनमा चुनाव हुने सम्भावाना भने निकै कम देखिन्छ । अध्यक्ष केपी शर्मा ओलीले नै सर्वसम्मत गर्न निर्देशन दिएकाले सोहीअनुसार अहिले सहमतिको प्रयास भैरहेको जनाइएको छ । 

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बिहान जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालसहित अखिलका नेता र अध्यक्षका आकांक्षीहरुलाई बोलाएर सहमतिमा नेतृत्व टुंगो लगाउन निर्देशन दिएका थिए । सोहीअनुसार बन्दसत्र हलमा अध्यक्षमा सुजन कडरियाको नाम प्रस्ताव गरिएको छ । 

अध्यक्षका आधा दर्जन आकांक्षीले चुनावको माग गरिरहेको अवस्थामा अध्यक्षमण्डलले कडरियाको नाम प्रस्ताव गरेपछि असन्तुष्टहरुले हलमा नाराबाजी गरेका छन् । ‘नो सेलेक्सन, अनल्ली ईलेक्सन’ भन्दै उनीहरुले नारा लगाएका हुन् । 

निर्वाचन मण्डलका अध्यक्ष भानुभक्त ढकालले आज बिहान वालुवाटारमा भएको सहमतिअनुसार अध्यक्षमा कडारियाको नाम प्रस्ताव गरेका थिए । त्यसैगरी, उपाध्यक्षमा प्रकाश पौडेल, अञ्जना सिवाकोटी र महासचिवमा दीपक धामीलाई प्रस्ताव गरिएको थियो । तर, अध्यक्षका आकांक्षी पौडेल, सिवाकोटी र धामीले सहमति जनाएका छैनन् ।  

‘बालुवाटारले पठाएको नाम विद्यार्थीहरुले अस्वीकार गरेका छन् । निर्वाचन मण्डलले अध्यक्षमा कडारियाको नाम प्रस्ताव गरेपछि चर्को नाराबाजी शुरु गरिएको छ । सेलेक्सन होइन, ईलेक्सन हुनुपर्ने माग राखिएको छ । हाल अध्यक्षको आकांक्षी पौडेल भने सम्पर्कविहिन छन् । कसैको फोन रिसिभ गरिरहेका छैनन्’, बन्दसत्र हलमा रहेका एक प्रतिनिधिले भने । 

महाधिवेशनमा सहभागी अधिकांशले कडारियाभन्दा पौडेल अध्यक्षको लायक भएको बताएका छन् । नेतृत्वदेखि वक्तृत्व कलामा उनीसँग राम्रो क्षमता भएको उनीहरुको भनाइ छ । ‘उमेर हद लागेपछिका अनेरास्ववियुको अध्यक्षका लागि काबिल व्यक्ति पौडेल हो । उनीसँग नेतृत्वदेखि वक्तृत्वकलासम्मको राम्रो क्षमता छ । आर्थिक रुपमा सम्पन्न भएपनि संगठनमा कडारिया निकै कमजोर छन्’, उनै प्रतिनिधिले सुनाए । 

अनेरास्ववियुको उपाध्यक्ष पदको आकांक्षी भरतसिंह धामीले कुनैपनि हालतमा ‘सेलेक्सन’ स्वीकार्य नहुने बताए । उनले भने, ‘भानुभक्त ढकालद्धारा अध्यक्षदेखि महासचिवसम्मका पदका लागि प्रस्तावित नामहरु बन्द सत्रको हलबाट ठाडो रुपमा अस्वीकृत भएका छन् । अब अनेरास्ववियुमा सेलेक्सन होइन्, ईलेक्सनको प्रक्रिया अगाडि बढ्नेछ ।’

टिप्पणीहरू