मुखमा पट्टी बाँधेर औषधी व्यवसायीहरुको धर्ना
औषधीको मूल्य–नीति सुझाव समितिको प्रतिवेदन खारेजीको माग राख्दै आएका औषधी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
नेपाल औषधी व्यवसायी संघसहित १० वटा औषधीसम्बद्ध संघसंगठनका प्रतिनिधिहरुले आज काठमाडौँको बिजुलीबजारस्थित औषधी व्यवस्था विभाग परिसरमा प्रदर्शन गरेका हुन् । मुखमा कालोपट्टी बाँधेर उनीहरुले बिहान ११ देखि १ बजेसम्म मौन धर्ना दिएका थिए ।
त्यसैगरी, विभागको विराटनगर, वीरगञ्ज र नेपालगञ्जस्थित शाखा कार्यालय प्राङ्गणमा पनि धर्ना दिइएको संघले जनाएको छ । समितिले गत जेठ २७ गते अध्ययन प्रतिवेदन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई बुझाएको थियो ।
सो प्रतिवेदन खारेजी वा पुनर्लेखनका लागि सरकारलाई अल्टिमेटम दिँदै आएका उनीहरुले आजदेखि प्रदर्शन शुरु गरेका हुन् । सरकारले आफ्ना माग सम्बोधन नगरेमा चरणबद्ध आन्दोलनमा जाने उनीहरुको चेतावनी छ ।
टिप्पणीहरू