जथाभावी लेख्ने महेश बस्नेत, पिरलो प्रधानमन्त्रीलाई
एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसलाई लिएर गायिका समीक्षा अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएकी छन् ।
बस्नेतले बलात्कारजस्तो गम्भीर अभियोग व्यक्तिगत बदला, चरित्र हत्या वा राजनीतिक बदनियतको औजार बन्दै गएको जनाउँदै नायक पल शाहमाथि लागेको अभियोगबारे लेखेका थिए ।
उनले ‘म बिरुध्दको प्रकरणः एक झुटो आरोपको चक्रव्यूह हो’ भन्दै लेखेका छन्,
‘मविरुध्द शोभा पाठकले लगाएको बलात्कार आरोपको गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुँदा माधव नेपाल,दुर्गा प्रसाईं, निकिता पौडेल, ज्वाला संग्रौला लगायतका केही राजनीतिक र सामाजिक व्यक्तित्वहरूको योजना र हौसलामा काठमाण्डौ प्रहरी परिसरमा जाहेरी दिइन् तर प्रहरी अनुसन्धानबाट आधारभूत प्रमाणहरू अभावमा सरकारी वकिल कार्यालयले गृहमन्त्री रवि लामेछाने भएको बेला मुद्दालाई तामेलीमा राख्यो। सो तामेलीको विरुध्द शोभा पाठक आफै रिट लिएर उच्च अदालत पाटन पुगिन्,त्यहाँ पनि अदालतले “भ्रामक र कपोलकल्पित” भन्दै उनले दर्ता गरेको रिट खारेज गर्यो। सो मुद्दामा अदालतले स्पष्ट फैसला गरिसकेपछि शोभा पाठकले त्यो निर्णयविरुध्द सर्वोच्च अदालत जाने कुनै कदम चालिनन् । बरु,भारतको एक अस्पतालको नक्कली कागजात प्रयोग गरी आफू कमजोर अवस्थामा रहेको मुध्दालाई ‘ट्विस्ट’ गर्ने प्रयास गरिन् । यसै आधारमा मलाई पुनः एक वर्षभन्दा बढी समयसम्म बदनाम गर्ने,राजनीतिक रूपमा कमजोर बनाउने र आगामी निर्वाचनमा असर पार्ने नियोजित प्रयत्न गरिएको देखिन्छन्। पृष्ठभूमिमा न्युज २४, जनआस्था साप्ताहिक,सूत्र टीभी लगायतका केही युट्युबर मिडिया र शोभा पाठकका फेसबुक तथा टिकटक एकाउन्टहरूमार्फत “लिभिङ टुगेदर”,“विवाह गरेको”,वा “सम्बन्धमा रहेको” जस्ता भ्रामक,प्रमाणबिहीन तथा एकपक्षीय विवरणहरू सार्वजनिक गरियो र मुध्दालाई प्रभावित गरी न्यायालयमार्फत मलाई जेल हाल्ने असफल प्रपञ्च रचियो । जो सफल भएन । तर पुनः ललितपुर महिला संघकी नेत्री निरु शर्मा खड्काको सहयोगमा भारत हरियाणाको एउटा अस्पतालमा गई “बिरामी भएको नाटक” गरेर बनाइएको नक्कली फर्ममा पति महलमा मेरो नाम लेखाई सुरेन्द्र भण्डारी, इन्द्र अर्याल र अन्जना अर्यालको प्लानिङमा पुरक जाहेरी भनी डेढ वर्षपछाडि पुन: उजुरी काठ्माण्डौ प्रहरीमा दिइएको थियो । आजसम्म भारतमा बनाइएका यस्ता व्यक्तिगत मेडिकल वा कानुनी कागजातहरूलाई नेपालको न्यायिक प्रणालीमा मान्यता दिने कुनै कानुनी व्यवस्था छैन । त्यसैले यस्ता प्रमाणहरू नेपाली अदालतमा वैधानिक रूपमा स्वीकार्य मानिन सक्दैनन् ।’
‘मलाई र हजुरकी डाक्टर छोरीलाई एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउँथ्यो... ?’
लामो स्टाटसपछि उनले पल शाहबारे लेखेका छन्ः
‘लोकप्रिय गायक तथा अभिनेता पल शाहमाथि जबरजस्ती करणीको आरोप लाग्यो । सार्वजनिक रूपमै मिडिया लगायतले उनलाई अपराधी ठहर गरे । तर अन्ततः अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै रिहा गर्यो । तर त्यो बेला उनले प्रतिष्ठा,करिअर गुमाइसकेका थिए जुन फर्कने अवस्था थिएन ।’
यता गायिकाहरु एलिना चौहान र अधिकारीले सामाजिक सञ्जालमा आफूहरुविरुध्द जथाभावी लेख्नेको परिचय सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्रीको प्रशंसाले हौसला मिले पनि उहाँको अत्यन्त विश्वासपात्र बस्नेतले आफ्ना कर्तुतबाट चोख्याउन सामाजिक सञ्जालमा समीक्षाको चरित्र हत्या गरेको दावी छ ।
उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू,हजुरले लेख्नुभएको फेसबुक पोष्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो । तर त्यो पोष्टको मसी सुक्न नपाउँदै हजुरकै अत्यन्त विश्वासपात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुनेगरी अनेक कुरा लेख्नुभएको देख्दा अत्यन्त विक्षिप्त बनेकी छु । जनताको अदालतभन्दा ठूलो अरु केही छैन । जिन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ । यो तीन करोड जनतालाई थाहा छ । धेरै भन्ने नपार्नुस् । बस्नेतज्यूलाई मेरो प्रश्न छ,मलाई र हजुरकी डाक्टर छोरीलाई एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउँथ्यो... ?’
टिप्पणीहरू