रविका लागि रत्नपार्कमा र्‍यापिड टोली, न्युरोडमा दुई जना

रविका लागि रत्नपार्कमा  र्‍यापिड   टोली, न्युरोडमा दुई जना

सहकारी काण्डमा अदालतको आदेशले जेल परेका सभापति रवि लामिछानेलाई छुटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देश तथा विदेशमा हस्ताक्षर तथा सहयोग संकलन अभियान चलाइरहेको छ ।   

न्यायिक प्रक्रियामा रहेको विषयलाई प्रभावित पार्न थालिएको अभियानअन्तर्गत हस्ताक्षरसँगै क्यूआर कोडमार्फत नगद संकलन पनि भैरहेको छ । त्यसनिम्ति बनस्थलीस्थित केन्द्रीय कार्यालयसहित देशका विभिन्न स्थानमा रविको फोटोसहितको ब्यानर टाँगेर सो पार्टीका कार्यकर्ता परिचालित छन् । 

रास्वपाको भात्री संस्था आरएटी (र्यापिड एक्सन टिम)को टोली रत्नपार्कको शान्तिवाटिकास्थित गणेश मन्दिर छेउमा खटिएको छ । त्यहाँ हुम्ला सभापति महेन्द्र पाण्डेको नेतृत्वमा २ जनाले हस्ताक्षर र रकम संकलन गरिरहेका छन्  ।

यता, न्युरोडस्थित पिपलबोटमा पनि हस्ताक्षर जम्मा गर्न थालिएको छ । स्थानीय कमिटी सदस्य शोभा खनाललगायत २ जना त्यहाँ सक्रिय छन् । 'रास्वपाको आह्वानः विकृति र प्रतिशोधको अवसान', 'विधिको शासन कायम गर, राजनीतिक प्रतिशोध बन्द गर', 'दलीय सिण्डिकेट लोकतन्त्रको अवरोध, राज्य संरक्षित अराजकताको गरौँ बिरोध' भन्ने नारा लगाइएको छ ।

अभियान आगामी दुई महिनासम्म प्रत्येक दिन बिहान १० देखि साँझ ५ बजेसम्म चल्ने बताइएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै रास्वपाले पार्टी स्थापनाको तेस्रो वर्षको अवसर पारेर हस्ताक्षर जुटाउन थालेको हो ।

टिप्पणीहरू