चीनसँगको दोस्तीलाई थप मजबुत बनाइने
प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनसँगको द्विपक्षीय हित,आपसी सहकार्य र सम्बन्धका विविध पक्षलाई नेपालले थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्ष प्रवेशको अवसरमा राजधानीमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सात दशकदेखिको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ र विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपालको विकासका क्षेत्रमा चीनले पुर्याएको सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य,सडक, सूचना प्रविधिलगायत पूर्वाधारको क्षेत्रमा चीनसँग थप सहकार्य हुने विश्वास लिनुभएको छ ।
कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीन–नेपाल सम्बन्धलाई साझा सपना र उज्यालो भविष्यतर्फको सहयात्राको रुपमा चित्रण गर्नुभएको छ । उहाँले दुई मुलुकबीच कुनै भू–राजनीतिक विवाद एवम् गम्भीर मतभेद नरहेकाले दुबै मुलुकको साझा उद्देश्यको रुपमा आफ्ना जनताको जीवनस्तर उकास्ने एउटै सपना देखेको बताउनुभयो ।
भन्नुभयो, ‘हामी दुई प्राचीन सभ्यता हौं, जसलाई संस्कृतिले जोडेको छ र समान मूल्यहरूले बाँधेको छ । हामी अन्तर्राष्ट्रिय मामिलामा निष्पक्षता र न्यायको पक्षमा एकै ठाउँ उभिन्छौं । नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक भन्नुभएको थियोः चीन र नेपालबीच मित्रताबाहेक अरू केही छैन ।’
रणनीतिक विश्वास निर्माणमा अझ नजिकका साझेदार रहने प्रतिबद्धताका साथ राजदूत सोङले परिवर्तन र चुनौतीले भरिएको वर्तमान विश्वमा चीन नेपालको साथ उच्चस्तरीय संवादहरू सुदृढ गर्न तयार रहेको जानकारी दिनुभयो । आपसी राजनीतिक विश्वास अझै गहिरो बनाउँदै,अन्तर्राष्ट्रिय मञ्चमा एकअर्काको मूल हितहरूमा दृढ समर्थन जनाउने विश्वास दिलाउनुभयो । विश्वको भविष्य निर्धारण गर्ने प्रमुख मुद्दाहरूमा हामी एउटै धारमा रहेको उल्लेख गर्दै भन्नुभयो, ‘हामी इतिहास र प्रगतिका पक्षमा छौं । हामी शीतयुद्ध मानसिकता र गुटबन्दीको विरोध गर्छौं । संयुक्त राष्ट्रसंघको केन्द्रीय भूमिकासहितको अन्तर्राष्ट्रिय प्रणाली तथा यूएन चार्टरका उद्देश्य र सिद्धान्तहरूमा आधारित अन्तर्राष्ट्रिय नियमहरूको संयुक्त संरक्षणमा विश्वास गर्छौं ।’
चीन नेपालका विकास चुनौतीहरू समाधान गर्न चिनियाँ उपायमार्फत सहयोग गर्न तयार रहेको राजदूतले बताउनुभयो । चीनको आधुनिकीकरण यात्रा नेपालको विकास रणनीतिसँग गहिरो रूपमा मेल खाने भएकाले शासन र नीति निर्माणमा अनुभव आदानप्रदान गर्न चीन इच्छुक छ । उच्च गुणस्तरको बेल्ट एण्ड रोड इनिसिएटिभलाई नेपालको भूजडित राष्ट्रको नीतिसँग र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को दृष्टिकोणसँग जोड्न चीन तत्पर रहेको उहाँको भनाइ छ ।
व्यापार, यातायात, पूर्वाधार, लगानी, कृषि, उद्योग, स्वास्थ्य, विपद् प्रतिकार्य र गरिबी निवारणजस्ता क्षेत्रहरूमा सहकार्य विस्तार गर्दै नेपालले आफ्नै आवश्यकताअनुसार रोजेको विकास मार्गमा चीनले निरन्तर समर्थन गर्ने चिनियाँ प्रतिबद्धता छ । दुई मुलुक सांस्कृतिक आदानप्रदान र आपसी सिकाइमा पनि निकट साझेदार रहने विश्वास राजदूत सोङको छ ।
भन्नुभयो, ‘चीन र नेपालबीच सांस्कृतिक सम्बन्ध गहिरो छ । जनस्तरका सम्बन्धहरू बलिया छन् । युवा, शिक्षा, संस्कृति, पर्यटन, सञ्चार, र थिंक ट्याङ्कहरूबीचको सहकार्य सशक्त बनाउन तयार छौं । भगिनी सहरहरूबीचको सम्बन्ध विस्तार गर्दै, दुई देशबीचको यात्रा अझ सहज बनाउने काममा हामी जोड दिनेछौं ।’
चिनियाँ उखान ‘नजिकको छिमेकी टाढाको आफन्तभन्दा उत्तम’ को जगमा मित्रतापूर्ण भेटघाट र साझा अनुभवबाट अझ प्रगाढ बनाउँदै नेपालका थप मित्रहरूलाई चीन भ्रमण गर्न र चीनलाई अझ राम्ररी बुझ्न उहाँले आग्रह गर्नुभएको छ ।
नेपाली भनाई ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैँ चीनमा पनि उस्तै उखान रहेकाले चीन र नेपालले सँगसँगै सगरमाथाको नयाँ उचाइ मापन गरेकाले दुई मुलुकको सम्बन्धलाई पनि नयाँ उचाइमा पुर्याउन हातेमालो गर्दै अघि बढ्नुपर्ने उहाँको धारणा छ । भन्नुभयो, ‘हामीले सँधै एकअर्काको सम्मान गर्दै, पारस्परिक लाभमा केन्द्रित सहकार्य गर्दै अघि बढ्यौं भने, हाम्रो मित्रता ७० वर्ष मात्र होइन, अनेकौं पुस्तासम्म बलियो रहनेछ ।’
नेपाल र चीनबीच १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । शान्तिपूर्ण सह–अस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता र अहस्तक्षेप लगायत पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकता दिएका छन् । विश्वशक्ति राष्ट्र बनेको चीनले हासिल गरेको विकासबाट अधिकभन्दा अधिक लाभ लिनु नै नेपालको हित रहेकोमा दुई मत छैन ।

टिप्पणीहरू