दुई मिनेटमा दुई गोल गर्दै म्याड्रिडको पुनरागमन जित
स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले पुनरागमन जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा म्याड्रिडले माल्लोर्कालाई २-१ गोलले हराउँदै लिगमा लगातर तेस्रो जित निकालेको हो ।
इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन आन्द्रा गुलेर र भिनिसियस जुनियरले समान एक/एक गोल गरे । माल्लोर्काको लागि भेडान्त मुरिकीले एक गोल फर्काए । खेलमा एक गोलले पछि परेको अवस्थामा दुई मिनेटको अन्तरालमा दुई गोल गर्दै म्याड्रिडले जित निकालेको हो । खेलको १८ औँ मुरिकीले कर्नरमा हेडर गोल गर्दै पाहुना टोलीलाई शुरूवाती अग्रता दिलाएका थिए ।
३७ औँ मिनेटमा गुलेरले खाली पोस्टमा हेडर गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याए । लगत्तै भाल्भेर्डेको पासमा भिनिसियस जुनियर गोल गर्दै म्याड्रिडलाई २-१ गोलको अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड २-१ गोलले विजयी भएको हो । खेलमा म्याड्रिडले गरेको तीन गोल भिएआरले रद्द गरेको थियो ।
जितसँगै म्याड्रिड ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट एक अंक जोडेको माल्लोर्का १८ औँ स्थानमा रहेको छ ।
टिप्पणीहरू