एकै दिन तीन ठूला फिल्म, निर्देशकबीच ‘साइबर वार’

एकै दिन तीन ठूला फिल्म, निर्देशकबीच ‘साइबर वार’

सार्वजनिक बिदा र चाडपर्वमा दर्शक फुर्सदिला हुने भएकाले त्यस्तो समयमा प्रदर्शन हुने चलचित्रले राम्रो व्यापार गर्ने विश्वास चलचित्र वृत्तमा पुरानै हो । यही विश्वासका आधारमा सफल भएका धेरै चलचित्रका उदाहरण पनि छन् । तर अहिले एउटै मितिमा चलचित्र प्रदर्शन गर्ने होडबाजीले दुई चर्चित निर्देशकबीच कलह चर्किएको छ ।

सामाजिक सञ्जालबाट सुरु भएको विवाद अहिले प्रहरीको साइबर ब्युरोसम्म पुगेको छ । यसरी ‘साइबर वार’मा उत्रिएका निर्देशक हुन्—दिपकराज गिरी र सन्तोष सेन । दुवैलाई भेट्रान निर्देशक मानिन्छ । तर नेपालजस्तो सानो र साँघुरो चलचित्र क्षेत्रमा उनीहरूको झगडाले करोडौँ लगानीमा बनेका बहुप्रतिक्षित चलचित्रको भविष्य नै जोखिममा परेको देखिन्छ ।

आगामी असोज १३ गते फूलपातीका दिन तीन ठूला चलचित्र एकैचोटि रिलिज हुँदैछन्—‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ । सन्तोष सेन निर्देशित ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, दिव्य देवलगायतको अभिनय छ । रोहित अधिकारी निर्मित ‘माइतीघर’मा धिरज मगर, उपासना सिंह ठकुरी, प्रकाश सपुत, केदार घिमिरेलगायतका कलाकार छन् ।

त्यो मितिमा दिपकराज गिरीको चलचित्र भने छैन । तर उनको झगडा सन्तोष सेनसँग किन भयो ? कारणमा रोहित अधिकारी परेका छन् । दिपक र रोहित घनिष्ठ मित्र हुन् र उनीहरूले अघिल्ला प्रोजेक्टमा पनि सहकार्य गरेका थिए ।

दिपकले रोहितको चलचित्र ‘माइतीघर’को प्रचार गरिरहेका छन् । तर प्रचार सामग्रीमा दर्शकले ‘बलिदान’ हेर्ने हो भन्दै प्रतिक्रिया दिएको देखिन्छ । उता ‘बलिदान’को प्रचारमा पनि त्यति सकारात्मक प्रतिक्रिया छैन, धेरैले ‘माइतीघर’ हेर्ने हो भनेका छन् ।

फेसबुक कमेन्टबाट सुरु भएको विवाद मेसेज हुँदै प्रहरीसम्म पुगेको हो । दिपक र रोहितले सन्तोषमाथि साइबर सेना प्रयोग गरेको आरोप लगाइरहेका छन् भने सन्तोषसहित ‘बलिदान’ टिमले दिपक–रोहितले पैसा दिएर फेक अकाउन्टमार्फत् गालीगलौज गराएको दाबी गरेका छन् ।

रोहितले सन्तोषविरुद्ध जाहेरी दिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जनआस्थासँग बताए, ‘निवेदन आएको छ, दुवै पक्षलाई बोलाएर के भएको हो छलफल गराउँदैछौँ ।’ यस्तो विवाद अहिले मात्र होइन, चलचित्र प्रदर्शन अनुमति लिँदा पनि दुई टिमबीच मनमुटाव भएको स्रोत बताउँछ ।

स्रोतका अनुसार, ‘एउटै दिन तीन ठूला चलचित्र आउँदा दर्शक बाँडिन्छन्, जसले व्यापारमा नोक्सान गर्छ । हामीले सहमतिमा मिति मिलाउन भनेका थियौँ, तर मानिएन । अहिले देखिएको लफडा त आआफ्नो अहंकार र शक्ति प्रदर्शन मात्रै हो ।’

फूलपातीमै प्रदर्शन हुने अर्को फिल्म ‘हरिबहादुरको जुत्ता’ भने विवादमुक्त छ । हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, दिव्य देवलगायतको अभिनय रहेको यो फिल्मको प्रचार पनि अन्य दुई चलचित्रभन्दा ‘जेन्टल’ देखिन्छ । कलाकारहरू जिल्लाजिल्ला पुगेर सान्दर्भिक ढंगले प्रचार गरिरहेका छन् ।

तर एउटै क्षेत्रमा रहेर पनि दिपक र सन्तोषले देखाएको व्यवहारले राम्रो सन्देश दिएको छैन । चलचित्र वृत्तलाई नै बदनाम गर्नेगरी गरिएको हर्कतप्रति दर्शकले निराशा व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरेका छन् । दर्शक प्रमोद शाक्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दर्शकले दिएको मायाले तिमीहरू धेरै घमण्डी भयौं, आफूलाई ऐनमा हेर !’

टिप्पणीहरू