भीपीएन प्रयोग निकै जोखिमयुक्त : सरकार
प्रतिबन्धित फेसबुकसहितका सामाजिक सञ्जाल भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर चलाउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निषेधित सञ्जालहरूको पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत र जोखिमयुक्त भीपीएनको प्रयोग नगर्न आग्रह गरेको छ ।
‘नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको हुँदा त्यस्ता सञ्जालहरूको पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत र जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न अनुरोध छ,’ आज जारी विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मलाई निषेध, नियन्त्रण वा संकुचित गर्न नभई स्वनियमको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही बनाउन यस्तो निर्णय लिएको पनि प्रष्ट पारेको छ।
सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकरण हुन पटक–पटक आह्वान गरिएको तर नभएपछि सर्वोच्च अदालतकै आदेशको पालना गर्दै निष्क्रिय बनाइएको मन्त्रालयको भनाइ छ। ‘नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम पालना गर्ने निगरानी अधिकारी तोकी सूचीकरण हुन सम्बद्ध सबै सरोकारवालाहरूमा पुनः आह्वान गर्दछ,’ मन्त्रालयले भनेको छ।
सूचीकरणका लागि कुनै पनि शुल्क नलाग्ने र सूचीकरणको क्षणदेखि नै त्यस्ता प्लेटफर्म पुनः सक्रिय गराइने सरकारको दाबी छ ।
टिप्पणीहरू