मुलुककै जेठो मदरसामा भ्रष्टाचारको खात्
मदरसा मुस्लिम समुदायको धार्मिक विद्यालय हो। मदरसा अधिकांश समुदायको दान र सहयोगमा सञ्चालन हुन्छ । कपिलवस्तुमा साना ठूला गरेर दुई सयभन्दा बढी मदरसा रहेको बताइन्छ । तर यहाँका अधिकांश मदरसा राज्यले दिँदै आएको स्रोत साधनबाट चल्न बाध्य छन् भने केही मदरसासँग अकूत सम्पत्ति र स्रोत साधन रहेको देखिन्छ ।
मध्यपूर्वका मुलुक तथा छिमेकतिरबाट आउने सहयोग र समुदायले दान गरेका करोडौंको सम्पत्तिमा सञ्चालन भएका मदरसा यतिखेर भ्रष्टाचारको अखडा बन्दै गएको मुस्लिम अगुवाहरूको आरोप छ। नेपालकै सबैभन्दा ठूलो र ११७ वर्ष पुरानो मदरसा जामिया सिराजुल उलुममा समेत भ्रष्टाचार बढेको खबर बाहिरिएको छ ।
कृष्णनगर, चन्द्रौटा लगायत जिल्लामा चार अर्बभन्दा बढीको भौतिक सम्पत्ति रहेको उक्त मदरसा सञ्चालकहरूबाटै आर्थिक अनियमितता गरिएको अभिभावक तथा सर्वसाधारणको आरोप छ। सिराजुल उलुम गुठीले कृष्णनगरमा सिराजुल उलुम अल सफिया, मदरसा जैदबिन साबित, आयशा सिद्धिका गल्र्स कलेज तथा शिवराजमा मदरसा उस्मान विन अफ्फान, जियाउल उलुम मदरसा तथा फातिमा अल जोहरा गल्र्स कलेज सञ्चालन गरिरहेका छन् । यी धार्मिक विद्यालयको कुनै स्पष्ट आय–व्यय, विवरण, अनुगमन वा संचालन विधि बारे स्थानीय सरकार तथा सरोकारवालासँग तथ्याङ्क वा जानकारी नभेटिएको सरोकारवालाहरु बताउँछन् ।
अपारदर्शी स्रोत
मदरसा जामिया सिराजुल उलुम गुठीका सञ्चालकले शिवराज तथा कृष्णनगरमा कुल ७ वटा मदरसा र एउटा निजी विद्यालय सञ्चालन गरेका छन्। तर यसका लागि आउने विदेशी अनुदान र विद्यार्थीका अभिभावकहरूसँग लिने दान, सहयोग, स्थानीय, प्रदेश तथा संघीय सरकार वा यसको भौतिक सम्पत्तिबाट हुने आयका बारेमा कुनै तथ्याङ्क पालिकाहरूमा पाइँदैन ।
जामिया सिराजुल उलुम गुठी अन्तर्गतका विद्यालयमा दुई हजार बालबालिका अध्ययन गर्दछन् । उनीहरूका लागि सरकारले शिक्षक व्यवस्थापनमा प्रति मदरसा तीन लाख रुपैयाँ अनुदान, बालबालिकालाई छात्रवृत्ति, खाजा खर्च र पाठ्यपुस्तकवापत खर्च उपलब्ध गराउँदै आएको छ। तर नगरपालिकाका अनुसार मदरसामा शिक्षक कति छन्? कहाँका हुन् ? उनीहरुको शैक्षिक योग्यता कति छ ? वा विद्यार्थी संख्या ठीक छ कि छैन ? विद्यालयको आय–व्यय स्पष्ट नरहेको कृष्णनगर नगरपालिका शिक्षा शाखाको भनाइ छ।
आम्दानीमै अनियमितता
मदरसा जामिया सिराजुल उलुम गुठी नेपालमै आर्थिक रूपमा सम्पन्न मानिन्छ। तत्कालिन समयमा यहाँका जमिन्दार तथा स्थानीय बासीले मदरसा सञ्चालनका लागि करिब १२८ विगाहा जग्गा, ५ वटा व्यवसायिक कम्प्लेक्स भवन, दर्जनौं फलफूलका बगैंचा, माछापोखरी तथा खेतहरू छन्। त्यसबाट वार्षिक कति आम्दानी हुन्छ भन्ने कसैलाई थाहा छैन। चन्द्रौटा चोकमै रहेका तीनवटा व्यवसायिक कम्प्लेक्सको भाडा, कृष्णनगर भारतीय सीमासँग जोडिएको भवनको सटर भाडा मात्रै मासिक १५ देखि २० लाखसम्म आउने गरेको छ। भाडामा दिएका जग्गा, पोखरी, बगैंचाको आम्दानीको हिसाब छैन, तर मदरसा गुठी सञ्चालक समिति अध्यक्ष समिम अहमद खाँ (नदवी) ले आम्दानी र खर्च विवरण कसैलाई दिँदैनन्।
अध्यक्षको एकल शासन
अर्बौंको सम्पत्ति रहेको मदरसा जामिया सिराजुल उलुममा विगत २५ वर्षदेखि समिम अहमद खाँ (नदवी) को एकल शासन छ। चन्द्रौटा कुदरबेटवाका जमिन्दार परिवारका नदवीले मदरसाबाट आउने आम्दानी मात्र होइन, त्यस मातहत रहेका जग्गा, भौतिक पूर्वाधार, कम्प्लेक्सको स्रोत साधन समेत निजी सरह चलाउने गरेको स्थानीयबासीहरूले बताएका छन्।
‘नदवीसँग हिसाब माग्न सबै डराउँछन्, सोध्यो भने किन चाहियो भन्छन्, गलत भइरहेको छ तर बोल्ने कोही छैन,’ चन्द्रौटाका महबुब खाँ भन्छन्। उनका अनुसार नदवी विगत २५ वर्षदेखि जबर्जस्ती अध्यक्षको जिम्मेवारीमा छन्। उक्त मदरसा समितिमा जमिन्दार परिवारका डा. मन्जुर खाँन र नदवीका परिवार तथा कृष्णनगरका मशहुद खाँसहित नौ जना छन्। पारिश्रमिक समेत नपाउने एउटा मदरसा गुठीमा २५ वर्षदेखि अध्यक्ष बन्नुले पनि धेरैको शंकालाई बल पुगेको हो । नदवीले निकटस्थहरूसँग आफू बाँच्दासम्म आफू र शेषपछि आफ्नो परिवारले नै संस्थाको नेतृत्व गर्ने दाबी गर्दै आएका छन्।

मदरसाभित्र बोर्डिङ स्कूल
चन्दा, दान तथा सरकारी अनुदानबाट चलेको मदरसा भित्रै सञ्चालकहरूले निजी विद्यालय समेत चलाइरहेका छन्। कृष्णनगरमा रहेको मदरसा सिराजुल उलुमको पुरानो भवनमा अल हेलाल पब्लिक स्कूल भनेर बोर्डिङ स्कूल चलाइएको छ। सार्वजनिक सम्पत्तिलाई निजी सरह प्रयोग गरेर संचालकहरूले आफ्नै लगानीमा निजी विद्यालय संचालन गर्नु गैरकानूनी भएको स्थानीयबासी बताउँछन्। त्यहाँ कृष्णनगरकै धनाढ्य मुस्लिम समुदायका बालबालिका अध्ययन गर्ने र चर्को शुल्कसमेत लिने गरिएको छ । स्रोतका अनुसार कृष्णनगर नगरपालिकाले अनुदानमा दिने शिक्षक, खाजा तथा पाठ्यपुस्तक मदरसा सञ्चालकहरूले त्यही निजी विद्यालय प्रयोग गरेको स्रोतको दाबी छ ।
कृष्णनगरको सिराजुल उलुम मदरसा मात्र होइन, तौलिहवा, बहादुरगञ्ज, मर्यादापुर, पकडी, अभिराव तथा बर्रोहिया क्षेत्रमा रहेका मदरसाहरूको आय–स्रोत र खर्च पारदर्शी हुनुपर्ने, वार्षिक साधारणसभा, अभिभावक भेला, मदरसाको आय–व्यय सार्वजनिक, स्थानीय सरकारबाट नियमित अनुगमन हुनुपर्ने माग छ। धार्मिक विद्यालय र मदरसामा हुने भ्रष्टाचारको आवश्यक छानबिन समेत गर्नुपर्ने मुस्लिम अगुवाहरू बताउँछन्।
यस सम्बन्धमा मदरसा जामिया सिराजुल उलुम गुठीका अध्यक्ष समिम अहमद खाँ (नदवी) ले गुठीका सबै आम्दानी विद्यार्थी पठन–पाठन, होस्टेल खर्च, शिक्षक व्यवस्थापनमै जाने गरेको ठोकुवा गरेका छन्। बाहिर हल्ला गरे जस्तो केही नभएको भन्दै उनले आफूमाथि आएका आरोपहरू निराधार रहेको बताउँदै सरकारी निकायले जुनसुकै बेला जानकारी लिन वा छानबिन गर्नसक्ने प्रष्ट पारे।
टिप्पणीहरू