भारतीय राजदूत जुरुक्क उठेर हिंडेपछि...
खानेपानी आयोजना उद्घाटन गर्न सोलुखुम्बुको सोताङ गाउँपालिका पुगेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव कार्यक्रमको बीचमै उठेर हिँडेका छन् । गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले अंग्रेजी र नेपालीमा भाषण दिएपछि उनी वाक्क भएर कार्यक्रमको बीचमै निस्किएका हुन् ।
भारतीय राजदूत श्रीवास्तवसहित काउन्सिलर अभिनासकुमार सिंह भारत सरकारको सहयोगमा निर्मित आयोजना उद्घाटन र निरीक्षणका लागि हिजो सोलुखुम्बु गएका थिए । बिहान उनीहरुले खुम्बु पासाङल्हामु गाउँपालिकाको खुम्चुङ भन्ने स्थानमा निर्माण भइरहेको परियोजनाको निरीक्षण गरे ।
त्यसपछि महाकुलुङ गाउँपालिकास्थित भारतीय सरकारको चार करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको गुम्बा अवलोकन गरे । दुवै ठाउँ गएर उनीहरु सोताङ पुगेका हुन् । गाउँपालिका अध्यक्ष बस्नेतसहितको टोलीले उनीहरुलाई स्वागत गर्यो ।
‘उहाँहरुले एकदमै लामो भाषण दिनुभयो । त्यसपछि राजदूत हामी पोलिटिकल कार्यक्रममा बस्दैनौं भन्दै उठेर हिँड्नुभएको हो’,
स्वागतपछि उद्घाटन कार्यक्रम भयो । त्यसपछि पालैपालो जनप्रतिनिधिहरुले भाषण दिन थाले । भाषण साह्रै लामो भएपछि राजदूत वाक्क भएर कार्यक्रम छोडी हिँडेका हुन् । सोही पालिकाका एक स्थानीयका अनुसार चार जनाले भाषण दिएका थिए ।
उनीहरुले एकदमै लामो–लामो भाषण दिएको ती स्थानीयको भनाइ छ । ‘उहाँहरुले एकदमै लामो भाषण दिनुभयो । त्यसपछि राजदूत हामी पोलिटिकल कार्यक्रममा बस्दैनौं भन्दै उठेर हिँड्नुभएको हो’,उनले भने ।
गाउँपालिकाका सूचना अधिकारी अरुण बस्नेतका अनुसार उनीहरु तोकिएको समयभन्दा निकै ढिला कार्यक्रममा उपस्थित भएका थिए । जसका कारण कार्यक्रम ढिला शुरु भएकोमा अध्यक्ष बस्नेतले अंग्रेजीमा भाषण दिए ।
स्थानीयले अंग्रेजी नबुझेपछि नेपालीमा बुझाइदिन आग्रह गरे । उनी फेरि अंग्रेजी भाषणलाई नेपालीमा अनुवाद गर्नतिर लागे । त्यसपश्चात् ‘पोलिटिकल कार्यक्रम भएको’ भन्दै राजदूत बीचमै हिँडेको बस्नेतको भनाइ छ । जनआस्थासँग उनले भने,‘यहाँ धेरैले अंग्रेजी बुझ्दैनन् । नेपालीमा बुझाउँदा उहाँ राजनीतिक कार्यक्रममा बस्न हाम्रो प्रोटोकोलले दिँदैन भनेर हिँड्नुभयो । भएको त्यति नै हो ।’
टिप्पणीहरू