संसद् भवनको गेटमा सम्झौता रद्दको सूचना

संसद् भवनको गेटमा सम्झौता रद्दको सूचना

शहरी विकास मन्त्रालयअन्तर्गत विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुको करार सम्झौता रद्द गरेको छ। 

समितिले आजदेखि लागू हुनेगरी परामर्श सेवा र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुको करार सम्झौता रद्द गरेको हो । नयाँ बानेश्वरस्थित संसद् भवनको १ नम्बर गेटमा सूचना टाँसेर समितिले त्यसबारे जानकारी गराएको छ । 

गत कात्तिक ९ गते बसेको बैठकको निर्णयानुसार स्वीकृत दरबन्दीबाहेकका परामर्श सेवा र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुको सम्झौता रद्द गरिएको समितिले जनाएको छ । 

‘पाँचौं बैठकको निर्णयानुसार समितिको स्वीकृत दरबन्दीबाहेकका परामर्श सेवा र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुको सम्झौता मिति २०८२–०७–१६ गतेदेखि लागु हुनेगरी रद्द गरिएको...’,सूचनामा उल्लेख छ । 

गत असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले करार र ज्यालादारीको कर्मचारी कटौती गर्ने निर्णय गरेको थियो । सो निर्णयबमोजिम अर्थ मन्त्रालयले असोज ७ गते प्रेस विज्ञप्ति जारी गरेर स्वीकृत दरबन्दीबाहेकका कर्मचारी हटाउन निर्देशन दिएकोमा कार्यालयहरुले धमाधम कर्मचारी निकालिरहेका छन् ।
 

टिप्पणीहरू