एकीकृत निर्वाचन सुरक्षा योजना पास, सेना परिचालन गर्न पत्र
केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको छ । आज गृह मन्त्रालयमा बसेको बैठकले चार वटै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित कार्यदलले तयार गरेको प्रतिवेदनमा टेकेर एकीकृत सुरक्षा योजना पास गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार एकीकृत सुरक्षा योजनामा मतदान केन्द्रको वर्गीकरण गरी सुरक्षा निकायको परिचालन कसरी गर्ने भन्ने विषय समेटिएका छन् । निर्वाचनपूर्व, मतदानको दिन र निर्वाचनपश्चातको समयलाई तीन तहमा विभाजन गरी सुरक्षा व्यवस्थापन मिलाइने छ ।
सीमानाकामा हुने अपराधिक घटना नियन्त्रण गर्ने विषय पनि सुरक्षा व्यवस्था योजनामा समावेश गरिएको छ । बैकले निर्वाचन प्रयोजनको लागि सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय पनि गरेको छ ।
समितिको गत असोज ९ मा बसेको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना तर्जुमा गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा नेपाली सेनाका रथी सहभागी थिए ।
टिप्पणीहरू