आजदेखि राजधानीकाे सुरक्षा व्यवस्थापन चुनौतिपूर्ण

आजदेखि राजधानीकाे सुरक्षा व्यवस्थापन चुनौतिपूर्ण

आगामी एक महिना काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थापन चुनौतिपूर्ण हुने देखिएको छ । कीर्तिपुरस्थित टियु रंगशालामा आजदेखि शुरु हुन लागेको नेपाल प्रिमिएर लिग (एनपिएल) र विभिन्न समूहले गर्न लागेको विरोध प्रदर्शनका कारण सुरक्षा चुनौती थपिएको विश्लेषण गरिएको छ । 

एनपिएललाई लक्षित गर्दै प्रहरी प्रधान कार्यालयले टियु रंगशाला परिसरमा तीन सय सुरक्षाकर्मी परिचालन गरेको छ । सम्भावित हुलदंगालाई मध्यनजर गरेर मैदानभित्र र बाहिर ठूलो संख्यामा सदा पोशाकका सुरक्षाकर्मी पनि खटिने छन् । 

काठमाडौँ प्रहरी परिसरले टिकट नपाएका दर्शकलाई घरमै बसेर खेल हेरिदिन आग्रहसमेत गरेको छ । बिहान जारी सूचनामा भनिएको छ,‘आजका सम्पूर्ण टिकटहरू बिक्री भइसकेको जानकारी प्राप्त भएकोले टिकट नपाएका महानुभावहरूलाई उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन कार्यमा सहयोग गरिदिन आग्रह गर्दछौँ ।’

उता नेकपा (एमाले)ले यो सााता काठमाडौँमा वृहत जागरण सभा गर्दैछ । संविधानको रक्षा तथा लोकतन्त्रको सुदृढीकरण र संसद पुर्नस्थापनाको माग राख्दै एमाले सडकमा उत्रिन लागेको हो ।  

त्यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरिसकेका छन् । उनी स्वयंले आन्दोलनका लागि भारतबाट हजारौँ मानिस काठमाडौँ ल्याउन लागेको बताएकाले सुरक्षा चुनौती थपिएको छ । 

प्रसाईं नेतृत्वको नागरिक बचाउन महाभियान र सरकारबीच दुई पटक वार्ता भए पनि सहमति जुट्न सकेको छैन । संविधान खारेज, राजतन्त्र र हिन्दुराज्य घोषणाजस्ता पूरा हुनै नसक्ने माग अघि सारेको यो समूहले गत चैत १५ गते तीनकुनेमा बितण्डा मच्याएको थियो। 

  
यी बाहेक अन्य समूहले पनि मंसिरभित्रै सडक प्रदर्शनको घोषणा गरेको कारण प्रहरीमाथि सुरक्षा चुनौती थपिएको छ । उपत्यकाको सुरक्षा चुनौतीलाई व्यवस्थापन गर्न सके प्रहरीप्रति आमनागरिकको बुझाईमा समेत राम्रो प्रभाव पार्ने एक पूर्वप्रहरी अधिकृत बताउँछन् ।

टिप्पणीहरू