‘एआई’ टिम बनाउँदै बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कृत्रिम बौद्धिकता (एआई)को छुट्टै टिम बनाउन लागेका छन् । उनले ‘एआई कन्साेर्टियम’ टिम बनाउन लागेका हुन् ।
एआईको सहयोगमा महानगरको कामलाई सहज बनाउने उद्देश्यसहित बालेनले विभिन्न आइटी विज्ञ र अनुभवीहरुसँग आन्तरिक छलफल गरिरहेको बताइन्छ । उनले मंसिर १४ गते त्यस्ता व्यक्तिहरुसँग महानगरकै कार्यालयमा छलफल समेत आयोजना गरेको बुझिएको छ ।
डेटा साइन्स, सफ्टवेयर डेभलपमेन्ट, डिजिटल गभर्नेन्स लगायतका क्षेत्रमा काम गरिरहेका व्यक्तिलाई टिममा समेट्ने बालेनको तयारी छ ।
महानगरकै कतिपय जनप्रतिनिधिहरुले भने बालेनको उक्त कदमप्रति आशंका व्यक्त गरेका छन् । बालेनले महानगरको कामलाई सहज बनाउन लागेका हुन् वा निजी सामाजिक सञ्जाललाई व्यवस्थित गर्न एआई टिम बनाउन लागेका हुन् ? प्रश्न उठेकाे हाे ।
०७९ मा मेयर निर्वाचित भएपछि बालेनमाथि साइबर सेना परिचालन गरेको आरोप लाग्दै आएको छ । सामाजिक सञ्जालमा आफूविरुद्ध बोल्ने व्यक्तिहरुमाथि उनले साइबर सेना परिचालन गरेर मनोवैज्ञानिक यातना दिएको कतिपयको आरोप छ । उक्त पृष्ठभूमिमा बालेनले एआई टिम बनाउन लागेपछि नागरिकमा आशंका पैदा भएको हो ।
टिप्पणीहरू