उम्मेदवारमा किचलो, मतदाताको टुंगो
मिसन २०८४ भन्दै निर्वाचनको तयारीमा बिस्तारै जुटेका राजनीतिक दलहरुलाई भदौ २३ र २४ गतेको घटनाले एकाएक सक्रिय बनाएको छ । तोकिएको मितिभन्दा २ वर्ष अगावै हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा एकातिर दलले जित्ने उम्मेदवार पाउन कठिन भएको छ भने अर्काेतिर टिकटका लागि मात्रै मरिहत्ते गर्नेहरुको सूची पनि बढ्दो छ ।
गतसाता समानुपातिक उम्मेदवारको सूची बुझाइए पनि निर्वाचन हुनेमा सबै सशंकित नै छन् । प्रहरीलगायत सुरक्षा निकायहरुको मनोबल उच्च हुन सकेको छैन । नेपाली सेना र सशस्त्र प्रहरीले नियमित गस्तीका नाममा गाउँ गाउँमा मतदाताको मनोभावना बुझिरहेको छ । ‘प्रायः गाउँमा युवाहरु छैनन्, मतदाता भए पो उत्साह हुनु ?’ स्थानीयहरु भन्दै थिए ।
नयाँ दलहरुको अर्कै चिन्ता छ । उनीहरुमा हुटहुटीसँगै सत्तामा पुग्ने छटपटी देखिन्छ । तर पनि सर्वसाधारण नागरिकमा मतदान हुन्छ नै भन्ने भन्ने विश्वास जागेको छैन । त्यसका बाबजुद निर्वाचन आयोगले तयारीलाई तीब्र बनाएको छ ।
अघिल्लो निर्वाचनमा गठबन्धनबाट नेकपा माओवादीका सूर्यमान दोङ र गठबन्धनलाई तोड्दै नेकपा एमालेका गोकुल बास्कोटा विजयी भएका थिए । अहिले दुबै जना उम्मेदवारीका लागि पहिलेझैँ उत्साहित देखिँदैनन् ।
एमाले भित्रको आन्तरिक राजनीतिले बास्कोटालाई प्रभाव पारिरहेको छ भने दोङको हकमा २०६४, २०७०, २०७९ सालमा उम्मेदवार बनेकाले अब अर्काे पुस्ता ल्याउनुपर्ने आवाज छ । नेपाली कम्युनिष्ट पार्टीको एकीकरण पछि हौसिएका भए पनि निर्वाचनको मत परिणामप्रति सशंकित रहेकाले पनि उनी पछि हटेको बताइएको छ ।
बास्कोटाको सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको फरक कित्तामा उभिएकाले टिकट नपाइने हो कि ? भन्ने चिन्ता पनि स्थानीय नेता तथा कार्यकर्तामा उत्तिकै छ । यद्यपी बास्कोटा उठेको अवस्थामा उक्त निर्वाचन क्षेत्रमा नेकपा एमाले विजयी हुने आकलन धेरैको छ । बास्कोटाको विकल्पमा ओली समूहमा सक्रिय भई केन्द्रिय कमिटी सदस्यमा विजयी नेपाल नगरपालिका संघका पूर्वअध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुलाई लिइएको छ । प्रमुखको पदावधी हुँदाहुँदै निर्वाचनमा जान नहुने कार्यकर्ताहरुको दबाबले उनी टिकट लिने वा नलिने निर्णयमा पुग्न सकेको देखिँदैन ।
अन्य दल आन्तरिक छलफलमा व्यस्त छन् । नेपाली काँग्रेस महाधिवेशनको लफडामा फसे पछि उम्मेदवारको विषय गौण बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुन चाहनेहरुले आफ्ना नाम र धारणा सामाजिक सञ्जालमा छरपस्ट बनाएका छन् ।
यता निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि फागुन २० गतेसम्म २० वर्ष उमेर पुगेका मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । जस अन्तर्गत देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता कायम भएका छन् । बागमती प्रदेशमा ३६ लाख ८२ हजार ३ सय १० मतदाता देखिन्छन् ।
जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख २६ हजार ६ सय ११ मतदाता कायम भएका छन् । जस अन्तर्गत पुरुष मतदाताको संख्या १ लाख ६७ हजार ४ सय ९९ छ भने महिलाको संख्या १ लाख ५९ हजार १ सय १० देखिन्छ । अन्य मतदाता २ जना छन् ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३ लाख १० हजार ६३ मतदाता कायम थिए । २०८२ फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा १६ हजार ५ सय ४८ मतदाता थपिका छन् । जिल्लामा २ वटा निर्वाचन क्षेत्र कायम छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार १ सय मतदाता छन् । जसमा पुरुष ८३ हजार ७ सय ७३, महिला ७७ हजार ३ सय २६ र अन्य १ जना छन् । निर्वाचन क्षेत्र नम्वर १ मा खानीखोला, चौरीदेउराली, तेमाल, धुलिखेल नगरपालिकाको वडा नम्वर ८ देखि १२ सम्म, नमोबुद्ध नगरपालिका, पनौती नगरपालिकाको वडा नम्वर ४,५,६,७,८,९ र १० नम्बर वडा पर्छन । त्यस्तै बेथान्चोक गाउँपालिका वडा नम्बर ६, महाभारत गाउँपालिका र रोशी गाउँपालिका पनि सोही क्षेत्रमा पर्छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ६५ हजार ५ सय ११ मतदाता कायम भएका छन् । जसमा पुरुष ८३ हजार ७ सय २६, महिला ८१ हजार ७ सय ८४ र अन्यमा १ जना मतदाता छन् । निर्वाचन क्षेत्र नम्बर २ मा धुलिखेल नगरपालिका वडा नम्बर १ देखि ७ सम्म, पनौती नगरपालिका वडा नम्बर १, २, ३, ११ र १२, पाँचखाल, बनेपा, बेथान्चोक १ देखि ५ सम्म, भुम्लु र मण्डनदेउपुर नगरपालिका पर्छन ।
मतदानका लागि जिल्लामा तोकिएका १ सय ८९ वटा मतदानस्थलमा ४ सय मतदान केन्द्र कायम गरिएको छ । काभे्रकामा १३ पालिकामा १ सय ३५ वटा वडा छन् । यसअघिको निर्वाचनमा १ सय ९० वटा मतदानस्थल कायम थिए भने ३ सय ८९ वटा मतदान केन्द्र तोकिएको थियो ।
मतदानस्थलमध्ये सुरक्षाको दृष्टिकोणबाट ५८वटा जटिल, ७६ वटा मध्यम र ५६ वटा सामान्य तोकिएको छ । प्रतिनिधि सभा २०७९ मा तीन हजार ११२ कर्मचारी र एक हजार ५५६ स्वंसेवक खटिएका थिए । त्यतिबेला चार वटा अस्थायी मतदान केन्द्र कायम थियो ।
अघिल्लो सोमबार सबै राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाए लगत्तै निर्वाचनका लागि वातावरण सिर्जना भएको छ । अझै शान्ति सुरक्षाको प्रश्न उठाउँदै दलहरुले निर्वाचनको वातावरण बनाउन आग्रह गरिरहेका छन् । भदौको जेन जी विध्वंशमा जेलबाट भागेका कैदीहरु अझै फरार छन् । प्रहरी चौकी जलाई लुटिएका हातहतियार र गोली समाजमै छन् । भदौमा जेन जीको नाममा विध्वंश मच्चाउनेहरुलाई कारबाही भएको छैन । दलहरुले यस्तो अवस्थामा निर्वाचनमा जाने वातावरण नभएको दावी गरेका छन् । तर मुलुक निर्वाचन उन्मुख हुँदै गएको सरोकारवालाहरुले बताएका छन् ।
–मोतीराम तिमल्सिना
टिप्पणीहरू