दलबलसहित स्वर्णिम लागे दिल्लीतिर

दलबलसहित स्वर्णिम लागे दिल्लीतिर

नेपालमा निर्वाचनको मिति नजिकिएसँगै प्रमुख पार्टीका नेताहरूको दिल्ली दौड बाक्लिएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड फर्केलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले पनि नयाँ दिल्ली पुगेका छन् । 

आज बिहान इन्डिगो एअरको (6E1152) उडानबाट भारतको राजधानी नयाँ दिल्ली उडेका उनीसँगै नेपाली काँग्रेसका नेता गोविन्दराज पोखरेल र पूर्वराजदूत विजयकान्त लालकर्ण पनि छन् । रवि लामिछानेको पार्टीबाट भावी अर्थमन्त्रीका रूपमा प्रचार गरिएका वाग्ले त्यहाँ आयोजना हुने ‘जेनजी आन्दोलनपछि नेपाल–भारतको सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुने बुझिएको छ ।  

नेकपाका संयोजक प्रचण्ड आइतबार दिल्ली पुगेका थिए । बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आधा घण्टा संवाद गरेपछि दिल्ली हानिएका उनी भोलिपल्ट फर्किए । पार्टीनिकट प्रवासी नेपालीको ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्न त्यहाँ गएका उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि गोप्य वार्ता गरेका थिए ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवापत्नी डा. आरजु राणा देउवा पनि त्यतै पुगेकी छन् । प्रचण्ड दिल्लीमै रहेका बेला सोमबार दिल्ली उडेकी उनी उपचारका लागि गएको भनिएको छ । उनले त्यहाँ राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम छ ।

यसअघि गत साता पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षण डा. बाबुराम भट्टराई पनि दिल्ली गएका थिए । त्यहाँ राजनीतिक भेटघाट गरेर फर्किएका उनले रास्वपा र काठमाडौंका मेयर बालेन्द्र साहलाई मिलाउन भूमिका खेले । दिल्लीबाट फर्किएको भोलिपल्टै बालेन्द्रलाई भेट्न ज्वागल पुगेका थिए ।

टिप्पणीहरू