विभत्स हत्याकाे अनुसन्धान जारी

विभत्स हत्याकाे अनुसन्धान जारी

तनहुँको शुक्लागण्डकीमा तीन जनाको विभत्स हत्या भएको छ । शुक्लागण्डकी नगरपालिका–५, कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्रनजिक वीभत्स अवस्थामा दुई पुरुष र एक महिलाको शव भेटिएको हो । 

हिजो बिहान ९ बजेतिर प्रशोधन केन्द्रका एक कर्मचारीले दुई पुरुष मृत अवस्थामा भेटिएको भन्दै इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गराएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गर्दा मृतकमध्ये एक पुरुष केन्द्रबाहिरै टहरा बनाएर बस्ने गरेको जानकारी मिलेकाे हाे । 

ती पुरुष एक महिलासँग बस्दै आएका थिए । उनीहरु बजार क्षेत्रबाट फोहोर संकलन गर्दै आएका थिए । तर, ती महिला सम्पर्कविहीन भएपछि शङ्का उत्पन्न भयो र खोजीको क्रममा दिउँसो करिब १२ बजे ती महिला पनि मृत भेटिइन् । उनको शव दुई पुरुषको शव भेटिएको स्थानभन्दा सात सय मिटर टाढा जनकल्याण माविको पछाडि कसेरीघाटको जंगलमा भेटियाे । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकका अनुसार मृतकमध्ये एक जनाको मात्र सनाखत भएको छ । पहिचान खुल्नेमा शुक्लागण्डकी–११, पाल्पालीछापका ४० वर्षीय नारायण विक रहेको उनले बताए । उनी सोही फोहोरमैला प्रशोधन केन्द्र सञ्चालनको जिम्मा पाएको ग्रिन रोड प्रालिका कर्मचारी हुन् । 

‘अहिलेसम्म मृतकका कोही पनि सम्पर्कमा आउनुभएको छैन, अनुसन्धान जारी छ,’ डिएसपी विकले भने । शुक्लागण्डकी नगरपालिका–५, का वडाध्यक्ष दीर्घबहादुर थापाका अनुसार तीनै जनाको विभत्स रुपमा हत्या गरिएको देखिन्छ । 

‘नारायण विकको पेटमा गम्भीर चोट छ, टाउकोमा पनि प्रहार भएको छ,’ उनले भने, ‘पहिचान नखुलेका पुरुषको पेटबाट आन्द्रासमेत बाहिर निस्किएको थियो । महिलाको भने घाँटी रेटिएको देखिन्छ ।’

टिप्पणीहरू