घरबाटै ल्यापटप चोर्ने प्रहरीको फन्दामा

घरबाटै ल्यापटप चोर्ने प्रहरीको फन्दामा

घरभित्र छिरेर सुन,ल्यापटप, मोबाइल लगायतका धनमाल चोरीमा संलग्न रहँदै आएका एक जना पक्राउ परेका छन् । विराटनगरको पिछडा टोलका पप्पु सहनि चोरीका सामनसहित घरबाटै पक्राउ परेका हुन् ।

विभिन्न समयमा भएका चोरीका घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सहनिलाई घरबाटै समातेको हो ।

सहनीले पिछडा टोलकै विकास गुरुङको घरबाट १ थान ल्यापटप, देवी साहको घरबाट ४ जोर चाँदीको पाउजु र १ थान मोबाइल चोरेका थिए । त्यस्तै, अन्य ठाउँबाट २ थान मोबाइल, १ जोर सुनको झुम्का, नगद २ हजार ८ सय ९५ रुपैयाँ, १ जोर चाँदीको बाला, १ थान चाँदीको सिक्का, १ थान चाँदीको लकेट र १ थान भारतीय सिक्का चोरेको प्रहरीले बताएको छ ।

यता, धनगढीमा ल्यापटप, मोबाइल र नगद चोरेर फरार रहेका एकजनालाई प्रहरीले समातेको छ । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका महेश रानालाई हिजो प्रहरीले पक्राउ गरेको छ ।

२०७६ जेठ १५ गते जिल्ला अदालत कैलालीले रानाविरुद्ध चोरी मुद्दामा १९ दिन कैद र १ लाख ६ हजार १ सय २३ जरिवाना ठहर गरेको थियो । त्यसयता फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका–८ बाट पक्राउ गरेको हो ।

रानाले धनगढी उपमहानगरपालिका–१ बसन्तटोलका शान्ति चौधरीको घरबाट ल्यापटप, मोबाईल र नगद गरी १ लाख ४० हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

टिप्पणीहरू