आप्रवासन दिवसमा स्वास्थ्य शिविर

आप्रवासन दिवसमा स्वास्थ्य शिविर

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा रक्तदान कार्यक्रम तथा निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अगुवाईमा आइतबार सिनामंगलस्थित कार्यालयमा शिविर राखिएको हो । 

स्वास्थ्य शिविर उद्दघाटन समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र नेपालस्थित मलेसियन दूतावासका निमित्त राजदूत महम्मद फर्दोससहित मन्त्रालयका अन्य पदाधिकारीको उपस्थिति थियो । शिविरमा करिब २३४ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ । 

कूल १३४ जनाले स्वास्थ्य सेवा लिएको शिविरमा मिर्गौला जाँच, भिडिओ एक्सरे, सुगर परीक्षण, रक्तचाप परीक्षण, महिला तथा प्रसुति रोगसम्बन्धी परामर्श दिइएको थियो । जसमध्ये २१ जनाले स्त्री रोग परामर्श पाएका थिए भने ५३ जनाको भिडिओ एक्सरे गरिएको थियो । विभिन्न रोगका ३२ जनालाई औषधि वितरण गरिएको थियो । शिविरमा ५७ जनाले रक्तदानसमेत गरेको बताइएको छ । 

यो वर्षको आप्रवासन दिवस ‘श्रम आप्रावसनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपमूलक आप्रवासन’ नाराका साथ मनाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मूल आयोजक रहेको कार्यक्रमलाई नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघ र गाम्का नेपालले संयुक्तरूपमा प्रयोजन गरेका हुन् । 

कार्यक्रममा मन्त्रालयका सचिव डा.पुष्करले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न सबैले हातेमालो गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले व्यवसायीहरूप्रति भएको विभेदले आफूहरू विचलित नहुने र कानूनी राज्यमा ढिलो-चाँडो न्याय पाउने विश्वास व्यक्त गरे ।

त्यस्तै, राजदूत महम्हद फर्दोसले मलेसियाको विकासमा नेपाली कामदारको योगदान महत्वपूर्ण रहेको र यसबाट दुवै देश लाभान्वित भएको भन्दै खुशी व्यक्त गरेका थिए । सोही अवसरमा चिकित्सक डा.परशुराम घिमिरे र जनआस्थाका पत्रकार राजकुमार रायलाई नगद र प्रमाणपत्रसहित सम्मानित गरिएको थियो ।

 

टिप्पणीहरू