खोप लगाइदेऊ,सवारी साधन चल्न देऊ
यातायात मजदूरहरुलाई कोभिड–१९ विरुद्ध खोपको व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिन यातायात व्यवसायी र यातायात मजदुरहरुले माग गरेका छन् ।
बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन् ।
यातायात क्षेत्र बन्द हुँदा उक्त क्षेत्रले ठूलो घाटा व्यहोर्नु परेको तथा मजदूरहरु भोकभोकै बस्नुपर्ने बाध्यता आइलागेकाले आफूहरुको माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
प्रशासन सोबारेमा सकारात्मक भएको र केही दिन कोभिड संक्रमणको अवस्थालाई मूल्याङ्कन पश्चात् निर्णय गर्न तयार रहेको उनले जानकारी दिएका छन् ।
सार्वजनिक सवारी साधन तत्काल सञ्चालन गर्न नसकिने भए यातायात मजदूरलाई राहत प्याकेज उपलब्ध गराउनुपर्ने मजदूरहरुको माग छ ।
टिप्पणीहरू