अनुगमनमा गएका वडाध्यक्षको जेसिबीले हानेर हत्या
सर्लाहीको ईश्वरपुर नगरपालिका–३,भक्तिपुरमा पोखरी खन्दाको विवाद बढ्दै गएपछि जेसिबीको बकेटले हानेर वडाध्यक्षको हत्या गरिएको छ । हिजो बेलुकी ९ बजे सोही वडामा निर्माणाधीन पोखरीको अनुगमनमा गएका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको नगरप्रमुख मनोजकुमार देवकोटाले बताउनुभएको छ ।
शुक्रबार साँझ जेसिबी चालकसँग विवाद चर्किंदा जेसिबीले ठक्कर दिई वडाध्यक्ष श्रेष्ठको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय,सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले पनि बताउनुभएको छ । उहाँका अनुसार जेसिबी चालक,ठेकेदार र वडाध्यक्ष मिलेर साँझ ७ बजेदेखि खानपिन गरेको र अन्त्यमा विवाद भएपछि रबिन भनिने हर्खबहादुर तामाङले श्रेष्ठको हत्या गरेका थिए ।
घटनापछि अचेत अवस्थामा रहेका श्रेष्ठलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको गिरीले बताउनुभयो । अहिले प्रहरीले जेसिबी चालक रबिन र ठेकेदार प्रेमराज दहाललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
दुवैले वडाध्यक्षको हत्या गरेको स्वीकार गरिसकेको गिरीले बताउनुभयो ।
टिप्पणीहरू