सर्वसाधारणको पैसा जनप्रतिनिधिको झोलामा

सर्वसाधारणको पैसा जनप्रतिनिधिको झोलामा

गरिब एवम बेरोजगारहरूको जीवनस्तरमा सुधार ल्याएर गरिबी न्यूनीकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ कर्णाली प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत व्यक्तिको बैंक खातामा जम्मा गरिएको रकम चेक साट्नेबित्तिकै त्यहाँका जनप्रतिनिधिले फिर्ता लिने गरेको रहस्योद्घाटन भएको छ ।

चौरजहारी नगरपालिका ८ का जनप्रतिनिधिले आफ्नो वडामा परेको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको दुई वटा योजनाको रकम सर्वसाधारणको खातामा जम्मा भएपछि उनीहरूलाई बैंकमा बोलाएर पैसा फिर्ता लिने गरेका छन् ।

प्राप्त जानकारीअनुसार स्वरोजगारको लागि नक्कली नाम दर्ता गराएर,कामै नगरेका विभिन्न व्यक्तिहरूको बैंक खाता मागेर लाखौं रकम बैकमा जम्मा गरिएको थियो । सोही रकम निकाल्न बैंकमा बोलाउँदै फिर्ता लिँदै गरिएको खातावालहरूले बताएका छन् ।

आइतबार,सोमबार र मंगलबार तीन दिन वडाबाट बोलाइएका व्यक्तिहरूले चौरजहारीस्थित राष्ट्रिय वाणिज्य बैंकबाट पैसा निकाल्ने बित्तिक्कै वडा सदस्य शशिराम नेपालीको झोलामा जम्मा गरिदिएका थिए । नाम नबताउने शर्तमा एक खातावालाले भने, ‘मेरो खातामा ६४ हजार जम्मा भएको रहेछ,सबै निकाले । त्यसबाट पाँच हजार मलाई दिनुभयो,अरु सबै उहाँले झोलामा हाल्न लगाउनुभयो ।’ उनले गाउँका सबैजसोले केही रकम खातावालालाई दिएर अरु सबै रकम जनप्रतिनिधिले फिर्ता लिएको जानकारीसमेत दिएका छन् ।

बैंक खाताको रकम निकाल्नेबित्तिकै जनप्रतिनिधिले लिने गरेको सूचना पाएपछि सोही वडाका एक अर्का व्यक्तिले आफ्नो खातामा जम्मा भएको सरकारको रकम जनप्रतिनिधिलाई फिर्ता नदिने भन्दै बैंक नगएको बताए । करिब २ घण्टा हिँडेर घरबाट बैंक पुगेको बताउँदै उनले अर्को दिन आएर चेक साट्ने जानकारी दिएका छन् ।

व्यवहारिकता मिलाउन पैसा फिर्ता लिएका हौं : जनप्रतिनिधि

सोबारे चौरजहारी नगरपालिका ८ का वडा सदस्य शशिराम नेपालीले व्यवहारिकता मिलाउन केही रकम फिर्ता लिइएको बताए । उनले कालिका आधारभूत विद्यालयको फिल्ड तथा पर्खाल निर्माण र गेरुखोला सिँचाई पोखरी निर्माणको लागि कार्यक्रममा परेको जानकारी दिँदै वडाबाट ४० जनाको नाम र खाता मिलाएर पठाएको र खातामा जम्मा भएको जम्मा रकममध्ये केही रकम फिर्ता लिइएको प्रतिक्रिया दिए ।

बैंकमै बसेर चेक साट्नेबित्तिकै फिर्ता लिइएको गुनासो छ,खास कुरा के हो ? भनेर सोधिएको प्रश्नमा वडा सदस्य नेपालीले भने, ‘बजारमा योजनाको रकम तिर्नु थियो,कार्यवाहक वडा अध्यक्ष देवी खड्का र एक जना शिक्षक पनि थियौं । केहि रकम व्यवहारिकता मिलाउन फिर्ता लिएका हौं ।’ उनले उक्त योजनाको लागि बजारबाट सरिया,सिमेन्ट लिएको,बालुवा बोकेको गाडीलाई तिर्न बाँकी रहेकाले व्यवहारिक कुरा मिलाउन त्यसो गरिएको जानकारी दिएका छन् ।

खातामा रकम जम्मा गरिएकामध्ये आइतबार र सोमबार केहीले बैंकबाट रकमा झिकेको र अब ९ जनाले मात्र रकम झिक्न बाँकी रहेको समेत नेपालीले जानकारी दिएका छन् । पाँच हजार मात्र दिएर अरु रकम फिर्ता लिनुको कारणबारे उनले स्वीकार्दै भने, ‘कसैले ५ हजार लिए,कसैले बीस हजारसम्म पनि लिएका छन् ।’ उनका अनुसार वडा नम्बर ८ बाट परेका ४० जनामध्ये कममा ४६ देखि ४७ हजार र बढीमा ६४ देखि ६५ हजार रुपैयाँसम्म रकम खातामा जम्मा भएको हो ।

सोबारे चौरजहारी नगरपालिकाकी उपप्रमुख राधा रोकाले उक्त वडामा दुई वटा योजनावापतको रकम नगरपालिकाले उपलब्ध गराएको बताउँदै परिणाममुखी कार्यका लागि वडाले निर्देशिका मिचेको हुनसक्ने बताउनुभएको छ । विकास निर्माणको काममा खरिद गरिएका विभिन्न सामग्रीको पैसा ‘मेकअप’ गर्नको लागि काम नगरेकाहरूको पैसा फिर्ता लिइएको हुन सक्ने भन्दै स्थानीयस्तरको आवश्यकताअनुसार अलिकति निर्देशिका मिचेर काम गर्नुपर्ने बाध्यता रहेको समेत उपप्रमुख रोकाले नै उल्लेख गर्नुभएको छ । वडाले काम गरेको दिनको मात्रै ज्याला दिने र अरु रकम फिर्ता दिनेगरी पहिले नै जानकारी गराएको बताउँदै उहाँले बैंकमै जनप्रतिनिधि गएर पैसा फिर्ता माग्नु चाँही अशोभनीय भएको उल्लेख गर्नुभयो ।

रोजगार कार्यक्रमबाट अन्यत्रभन्दा नमूनायोग्य काम गरेको दाबी गर्दै उपप्रमुख रोकाले निर्देशिकालाई मात्र ‘फलो’ गर्न खोज्दा स्थानीय आवश्यकता पूरा गर्न मुश्किल भएको उल्लेख गर्नुभयो । कामै नगरेका मान्छेको खातामा पैसा हालेर फेरी फिर्ता माग्ने कार्य व्यवहारिकता मिलाउनको लागि मात्र गरिएको हुनसक्ने भन्दै उहाँले गलत कार्यको बचाउ समेत गर्नुभएको छ ।

टिप्पणीहरू