एउटै सरकारी अड्डा,दुई जना उही दर्जाका हाकिम

एउटै सरकारी अड्डा,दुई जना उही दर्जाका हाकिम

एउटा सरकारी अफिसमा दुई जना कार्यालय प्रमुख ! डिभिजन वन कार्यालय सुर्खेतमा त्यस्तै भएको छ । एकजना सरुवा भएर आएको र पुरानोले नछोडेका कारण दुई जना प्रमुख हाजिर हुने गरेका हुन् ।

हाजिरी किताबअनुसार कार्तिक २२ गतेदेखि दुवै जनाले कार्यालय प्रमुखको रुपमा कामकाज गर्दै आएका छन् । कार्यालय प्रमुखको जिम्मेवारी गोविन्दप्रसाद दाहालले सम्हाल्दै आएपनि उनको ठाउँमा मुनबहादुर रावत सरुवा भएर आएका थिए ।

रावत कार्तिक २२ गतेदेखि कार्यालयमा हाजिर छन् । उनी यसअघि प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको योजना उपशाखा प्रमुखको रुपमा कार्यरत थिए ।

कार्यालय प्रमुखको रुपमा रावत हाजिर भैसक्दा पनि दाहालले हालसम्म रमाना बुझिलिएका छैनन् । दाहाललाई उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयमै सरुवा गरिएको छ ।

‘म कार्तिक २२ गतेदेखि हाजिर भैरहेको छु । मन्त्रालयबाट कार्यालय प्रमुखको रुपमा कामकाज गर्ने गरी सरुवा गरिएको हो । दाहाल सरले रमाना नबुझेकोले उहाँको सरुवा हुन सकेको छैन । आज रमाना बुझेपछि भोलि बिदाई कार्यक्रम राखिएको छ’, रावतले भने ।

डिभिजन वन कार्यालय प्रमुख गोविन्दप्रसाद दाहाल आफ्नो कार्यकालमा विवादित बनेका थिए । उनको कार्यकालमा काँक्रेविहार संरक्षित वनक्षेत्रको पर्खाल निर्माण, उक्त वन क्षेत्रमा बस्ने वन रक्षक हटाएर प्रहरी परिचालन,प्रशान्ति धार्मिक वनमा ठेकेदारको रजाई, सडक निर्माणमा अनियमितता, अदुवा बेसार कार्यक्रममा अनियमितता, दिनेश स्मृतिपार्क निर्माण लगायतका विषय विवादमा परेका थिए ।

टिप्पणीहरू