अधिवेशनका लागि काँग्रेसले तोक्यो प्रदेश संयोजक

अधिवेशनका लागि काँग्रेसले तोक्यो प्रदेश संयोजक

सत्तारुढ नेपाली काँग्रेसले आसन्न १४ औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनका लागि सातै प्रदेशमा संयोजक तोकेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको केन्द्रीय समितिको बैठकले अधिवेशन गराउने जिम्मासहित केन्द्रीय नेतालाई संयोजक तोकेको हो ।

काँग्रेसले प्रदेश १ को संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह र गण्डकीमा गोपालमान श्रेष्ठलाई संयोजकको जिम्मा दिएको छ । त्यस्तै, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई संयोजक तोकिएको छ ।

काँग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ । बैठकले अधिवेशन सम्पन्न गर्न सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेता, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू पदेन सदस्य रहने गरि समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

टिप्पणीहरू