माओवादीमा खसआर्य र दलित हाराहारी, जनजातिले टपे
-पूजा लम्साल
नेकपा (माओवादी केन्द्र) मोरङको संगठित सदस्यमा खसआर्य र दलित समुदायको संख्या हाराहारी पुगेको छ । माओवादीले दिएको तथ्याङ्कअनुसार मोरङमा २५ कार्तिकसम्म २३ हजार ८ सय ८४ जनाले संगठित सदस्यता पाएका छन् ।
जसमा १६ हजार ३ सय ५५ जना पुरुष र ७ हजार ४ सय ९२ महिला छन् । जातिगत रुपमा खसआर्य समुदायबाट ४ हजार ८ सय ४२ जना सदस्य हुँदा दलित समुदायबाट ४ हजार २ सय २८ जनाले संगठित सदस्यता लिएको तथ्याङ्क माओवादीले दिएको छ ।
मोरङमा माओवादीमा आबद्ध हुनेमा जनजातिहरु सबैभन्दा बढी छन् । जनजातिबाट ८ हजार २ सय ११ जना संगठित सदस्य बनेका छन् । मधेशी समुदायको सदस्य संख्या ४ हजार ७ सय ३ जना छ । मुस्लिम समुदायबाट १ हजार ३ सय ६४ जना छन् ।
त्यसैगरी, बिराटनगर महानगरपालिकामा ३१ सय ३८ जना संगठित सदस्य बनेका छन् । उर्लाबारी नगरपालिकामा ८ सय ४१, पथरी शनिश्चरे नगरपालिकामा १८ सय ३९ र बेलबारी नगरपालिकामा २१ सय ५७ जनाले सदस्यता लिएको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै, सुन्दरहरैचा नगरपालिकामा १८ सय २३, लेटाङ नगरपालिकामा ८ सय ५२ र रंगेली नगरपालिकामा २२ सय ८४ जना संगठित सदस्य छन् ।
रतुवामाईमा १५ सय २९, सुनवर्षीमा १६ सय २, केराबारीमा ७ सय ७, मिक्लाजुङमा ८ सय ५२, कानेपोखरीमा १२ सय ५३, बुढीगंगामा १२ सय ६, ग्रामथानमा ८ सय ४७, धनपालथानमा १५ सय ४२, जहदामा १ हजार ७ र कटहरी गाउँपालिकामा ८ सय ५४ जनाले माओवादी केन्द्रको सदस्यता लिएको जनाइएको छ ।
टिप्पणीहरू