अमेरिकी सहायक विदेशमन्त्री चढेको जहाज किन डेढ घण्टा ढिलो उड्यो ?

अमेरिकी सहायक विदेशमन्त्री चढेको जहाज किन डेढ घण्टा ढिलो उड्यो ?

अमेरिकी मध्य तथा दक्षिण एसियाली मामिला सम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केल्ली केडरलिङ नेपालको भ्रमण सकेर हिजो राति स्वदेश फर्कनुभएको छ । उहाँहरु काठमाडौंबाट कतारको राजधानी दोहाहुँदै स्वदेश फर्कनुभएको हो ।

बिहीबार र शुक्रबार राजनीतिक भेटघाटमा व्यस्त अमेरिकी सहायक तथा उप विदेशमन्त्रीहरुले अनौपचारिक रुपमा प्रधानमन्त्री शेरबहादुरलगायतका नेतालाई अमेरिकी सहयोग परियोजना एमसीसीलाई मंसिर महिनाभित्र कार्यान्वयनमा लैजान दबाब दिएको बताइन्छ । आवरणमा जुन उद्देश्यको निम्ति काठमाडौं उत्रेको भनिए पनि अमेरिकी सहायक र उप विदेशमन्त्रीले एमसीसी सम्झौता कार्यान्वयनमा कुटनैतिक दबाब हालेको स्पष्ट भएको छ ।

नेपालको औपचारिक भ्रमण सकेर हिजो साँझ कतार एअरवेजको ८ बजेर ५० मिनेटको निर्धारित उडानबाट उहाँहरु स्वदेश फर्कने कार्यक्रम थियो । तर, विशिष्ट पाहुना बोकेर उड्न खोजेको कतार एअरवेजको उडान नम्बर क्युआर ६५१ विमानले झण्डै एक घण्टापछि मात्र भुईं छाडेको थियो ।

बत्तिसपुतलीको होटल द्वारिकामा बसेका अमेरिकी पाहुनाहरु सवा ८ बजे विमानस्थलमा पुग्ने कार्यक्रम थियो । त्यसअघि भ्रमणबारे जानकारी गराउन उहाँहरु सञ्चारकर्मीमाझ उपस्थित हुनुभएको थियो । सोअवसरमा अमेरिकी राजदूत रेण्डी बेरीको पनि उपस्थिति थियो ।

तर उहाँहरु होटलबाट निर्धारित समयभन्दा झण्डै आधा घण्टा अगावै पौने ८ बजे विमानस्थल पुगे पनि कतार एअरवेजको विमान निर्धारित उडान समयभन्दा ठ्याक्कै एक घण्टा ढिलो उडेको हो । विशिष्ट पाहुना चढेको जहाजको उडान निकै ढिलो भएकोबारे सम्बन्धित निकायले केही पनि बताउन चाहेको छैन ।

टिप्पणीहरू