देउवामाथि गुटबन्दी गरेको आरोप
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा सभापति शेरबहादुर देउवाको मनोमानी बढेको आरोप लगाएका छन् । १४औँ महाधिवेशनमा सभापतिमा देउवासँग पराजित भएका कोइरालाले विधि, सिद्धान्त र नीतिलाई मिचेर देउवाले एक्लौटी गरेको आरोप लगाएका हुन् ।
सिंहदरबार अगाडि होटल बसेरामा आज आफ्नो समूहको भेला राखेर कोइरालाले देउवाले गुटको राजनीति गरेको पनि बताए । देउवाले आफू इतरका नेता कार्यकर्तालाई नियोजित रुपमा पाखा लगाउन थालेको बताउँदै त्यसविरुद्ध डटेर आवाज उठाउनुको विकल्प नभएको उनको भनाइ छ ।
सभापति देउवाले मनोनयन गरेका १३ जना केन्द्रीय सदस्यहरू कुन मापदण्डअनुसार गरिएको हो भनेर आफूले जान्न चाहेको कोइरालाले उल्लेख गरे ।
‘महाधिवेशनपछि सभापतिज्यूले मनोनयन गर्नुभएका सबै नेताहरू योग्य र सक्षम नै हुनुहुन्छ । तर, कुन मापदण्डका आधारमा मनोनयन गरिएको हो । यो भने हामी जान्न चाहन्छौं,’ उनले भने ।
डा.कोइरालाले पार्टीलाई विधि र विधानअनुसार सबैको राय सुझावका आधारमा चलाउन नसकिए दुर्घटनामा पर्ने दाबी गरे । ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधानबाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?’ उनले भने ।
सो भेलामा कोइराला प्यानलबाट जितेका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा, सहभागी थिए । सोही समूहबाट चुनाव हारेका चन्द्र भण्डारी, मिनेन्द्र रिजाललगायतका नेताहरू पनि भेलामा पुगेका थिए ।
टिप्पणीहरू