कित्ताकाट नगरेको भन्दै शेखरमाथि रविन्द्रको कटाक्ष

कित्ताकाट नगरेको भन्दै शेखरमाथि रविन्द्रको कटाक्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष  रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई सम्बोधन गर्दै ९ बुँदे खुला पत्र लेखेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक पत्रमा विपीको बिचारलाई शेखरले आत्मसात गर्न नसकेको भनी आरोपित गरिएको छ । पार्टी सभापति र प्रधानमन्त्रीको लोभमा विपीको विचार छोडेको भन्दै मिश्रले ‘ल्याङल्याङे पारा’ त्याग्न सुझाव दिएका छन् । 

‘वीपीवाद’ त्यागेर ‘प्रचण्डवाद’मा रमाइरहेको आरोप लगाउँदै उनले लेखेका छन्, ‘वीपीजस्तै राजनेता हुने भए ड्याम्म एउटा पत्रकार सम्मेलन गर्नुहोस्, यो यो कारणले देश र कांग्रेसलाई वीपीपथमा लैजान पर्नेभयो भन्नुस् । प्रचण्डको कमिजको फेर समातेर नबस्नुस्, तपाई सहजताका साथ सभापति र प्रधानमन्त्री दुवै बन्नुहुन्छ ।’

वैकल्पिक शक्तिको वकालत गर्दै राजतन्त्रको कित्तामा पुगेका मिश्रले सभापति र प्रधानमन्त्री बन्न पाइन्न कि भन्ने आत्मकेन्द्रीत चिन्तनबाट शेखर ग्रसित रहेको दावीसमेत गरेका छन् । 

‘वीपीको सच्चा अनुयायी भएको भए तपाईले देशमाथि राख्ने कि पदलाई ? के वीपीले त्यही सिकाएका थिए तपाईलाई ?’ मिश्रको भनाइ छ, ‘सक्नुहुन्छ भने नवीन समझदारीको नेतृत्व गरेर राजनेता बन्नुहोस्, होइन भने प्रचण्डको फेर समातेर हल्लिरहनुस्, विराटनगर गएर गीत गाएर बस्नुहोस्, के सोचेँ मैले, के भयो अहिले ।’

कोइरालाको पुराना अभिव्यक्तिबाट पत्रको सुरुआत गरेका मिश्रले ‘दुवैतिर ठिक्क’ नबन्न पनि आग्रह गरेका छन् । ‘कि प्रष्ट भन्नुस्, म प्रचण्डवादी हुँ भनेर, कि प्रष्ट भन्नुस्, म वीपीवादी हुँ भनेर । यता पनि ठिक्क, उता पनि ठिक्कको राजनीति तपाईलाई सुहाउँदैन, यस्तो ल्याङल्याङे पाराले संसारमा कोही पनि राजनेता भएका छैन’, उनले लेखेका छन् ।
 

टिप्पणीहरू